इटहरी– सुनसरीमा प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए।
उनकाअनुसार पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेका छन्। उनीहरूको साथबाट प्रहरीले एक हजार दरको चार थान नक्कली नोट बरामद गरेको डीएसपी तिम्सिनाले जानकारी दिए।
उनका अनुसार सोमबार राति साढे ८ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएका थिए। उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले तत्काल प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट दुई थान र सामान किनेको दुईओटा पसलबाट एकएक थान एक हजार दरको नेपाली रुपैयाँको नक्कली नोट बरामद गरेको थियो। नक्कली नोटसहित पक्राउ परेका दुवैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।