कम्बोडिया- कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन्।
कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए। यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ। नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाइ सम्झौता भएको थियो।
भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो। सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिए।
प्रधानमन्त्रीले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।
भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ।
सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरेका छन्। कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो।
भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो।
सभामुखले नेपाली शान्ति प्रक्रियाको अद्वितीय सफलताको अनुभव बाँड्दै दुवै देशले साझा हितका क्षेत्रमा थप समझदारी र साझेदारी गर्न सक्ने धारणा राखेका थिए।
सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए। ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूर्ण सत्रमा सम्बोधन गरेका थिए।
सभामुख मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।