पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १५ दिन म्याद थप भएको छ। आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित चार जनामाथि अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो।
अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार आइतबार बहसपछि न्यायाधीश बेल्वासेको इजलासले पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईंलाई १५ दिन म्याद थपको अनुमति दिएको हो। योसँगै उनीहरू अझै २३ मंसिरसम्म प्रहरी हिरासतमा रहने छन्।
सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा पेस गरिएका प्रतिवादीको हकमा केहीको बयान बाँकी रहेको तथा अनुसन्धान प्रक्रिया बाँकी रहेको भन्दै जिल्ला सरकारी वकिलले भने २५ दिन हिरासतमा राख्नुपर्ने जिकिर गरेका थिए। तर अदालतले १५ दिन म्याद थपको अनुमति दिएको हो।
‘….पक्राउ परेका केही प्रतिवादीको बयान कार्य बाँकी रहेको, बयान गरेका प्रतिवादीहरूको हकमा थप प्रमाण खुली आएको तथ्यमा पूरक बयान गर्न बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाइएकोमा निवेदन प्राप्त हुन बाँकी रहेको, प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिद बिक्रीको लिखत सम्बन्धित कागज प्रमाण प्राप्त भइनसकेको,’ आदेशमा भनिएको छ, ‘कल डिटेल तथा मोबाइल परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको भन्ने समेत प्रयोजन खुलाई म्याद थप माग भएको देखिँदा प्रतिवादीहरू चारै जनाको हकमा थुनामा राख्ने म्याद थप गर्न मनासिव देखिएबाट सम्पत्ति शुद्धीकरण निवारण २०६४, को दफा १७(४) बमोजिम थुनामा राखी अनुसन्धान गर्ने गरी मिति २०८१।८।८ देखि लागू हुने गरी दिन १५ थुनामा राख्ने गरी अनुमति दिइएको छ।’
लामिछाने अदालतमा बयान दिने क्रममा आफूलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न जिकिर गरे पनि न्यायाधीश बेल्वासेले उनीविरुद्ध धेरै जिल्लामा समेत मुद्दा परेकाले म्याद थपिनेमा शंका नगर्न भनेका थिए।
गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई पाँचौँपल्ट म्याद थपका लागि आइतबार अदालत उपस्थित गराइएको थियो। यसअघि उनलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिन र चौथोपटक १३ दिनको म्याद थप भएको थियो।
गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले सूर्यदर्शन सहकारीलगायतको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछानेविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। पूर्व डीआईजी जोशी भने ६२ दिन हिरासत बसिसकेका छन्।
लामिछानेलाई बुटवल, काठमाडौं र चितवनबाट समेत पक्राउ पुर्जी जारी भएको छ। सोबमोजिम लामिछानेले ३ दिन जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बयान लिइसकेको छ। काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा चितवन सहकारीको रकम अपचलन गरेको अभियोगमा सम्बन्धित जिल्ला अदालतले पक्राउ पुर्जी दिएका छन्। लामिछानेलाई त्यसतर्फ बयानका लागि लगिने कास्की प्रहरीको तयारी छ।
यसैबीच लामिछाने, जोशी समेतलाई आइतबार अदालत उपस्थित गराउँदा रास्वपाले विगतमा जस्तो प्रदर्शन गरेन। बिहान कार्यालय खुले लगत्तै कडा सुरक्षा व्यवस्थाबीच उनीहरुलाई प्रहरीले गैह्रापाटनस्थित प्रहरी कार्यालयबाट सहिदचोकस्थित जिल्ला अदालत लगेको हो। यति हुँदासम्म विगतमा जस्तो रास्वपाले प्रदर्शन गर्दै अवरोध गरेन।
पार्टीका जिल्ला सभापति योगराज पौडेलले केन्द्रको निर्देशनबमोजिम यसपटक प्रदर्शन नगरेको स्पष्ट पारे। तर नियमितरूपमा धर्ना कार्यक्रम भने चिप्लेढुंगास्थित मानवअधिकार चोकमा भइरहेको छ।
पूर्व गृहमन्त्री समेत रहेका आफ्ना सभापतिलाई पक्राउ गरेपछि उक्त कार्य राजनीतिक प्रतिशोध भन्दै रास्वपाको सिंगो नेतृत्वपंक्ति नै पोखरा आएर कात्तिकको पहिलो सातासम्म प्रदर्शनमा उत्रिएको थियो। त्यसपछि काठमाडौं केन्द्रित आन्दोलन गरे पनि रास्वपाले आइतबार देशभर कुनै पनि प्रदर्शन नगरेको पौडेलले बताए।
लामिछानेलाई अदालत लगिँदा सुरक्षा व्यवस्था भने सधैं झै कडा पारिएको थियो। सर्वसाधारणलाई उक्त सहिदचोक क्षेत्र हुँदै आउजाउमा भने अवरोध गरिएको थियो। सवारी आगमन रोकिएको थियो।