रवि अदालतमा, रास्वपाका कार्यकर्ता चुनावतिर

हिमाल प्रेस ९ मंसिर २०८१ १४:१६
18
SHARES
रवि अदालतमा, रास्वपाका कार्यकर्ता चुनावतिर पोखराको सहिदचोकस्थित सडकमा आइतबार खटिएका सुरक्षाकर्मी। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा बयानका क्रममा लैजाँदा सुरक्षा व्यवस्था कडा बनाइएको कास्की प्रहरीले जनाएको छ। तस्बिर : हिमालप्रेस

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउँदा कार्यकर्ताहरू सडकमा देखिएनन्। अघिल्ला दिनमा जसरी सरकारको विरोधमा प्रदर्शन पनि भएन।

सहकारी ठगीसमेतको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पाँचौँपटक म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको हो। बिहान कार्यालय खुलेलगत्तै कडा सुरक्षा व्यवस्थाबीच लामिछानेलाई प्रहरीले गैह्रापाटनस्थित प्रहरी कार्यालयबाट सहिदचोकस्थित जिल्ला अदालत लगेको थियो।

पार्टीका कास्की सभापति योगराज पौडेलले केन्द्रको निर्देशनबमोजिम यसपटक प्रदर्शन नगरेको स्पष्ट पारे। नियमित रूपमा धर्ना कार्यक्रम भने चिप्लेढुंगास्थित मानवअधिकार चोकमा आयोजना गरिएको उनले बताए।

पूर्वगृहमन्त्रीसमेत रहेका सभापतिलाई गत २ कात्तिकमा पक्राउ गरेपछि उक्त कार्य राजनीतिक प्रतिशोध भन्दै रास्वपाको सिंगो नेतृत्वपंक्ति एक सातासम्म प्रदर्शनमा उत्रिएको थियो। त्यसपछि काठमाडौँ केन्द्रित आन्दोलन गरे पनि रास्वपाले आइतबार देशभर कुनै पनि प्रदर्शन नगरेको पौडेलले बताए।

लामिछानेका विषयमा अदालतमा बहस चलिरहँदा अदालत आसपास क्षेत्रमा भने सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वसाधारणलाई सहिदचोक क्षेत्र हुँदै आउजाउमा अवरोध गरिएको छ। सवारी आगमन रोकिएको छ।

गत २५ कात्तिकमा लामिछानेलाई थपिएको १३ दिनको म्याद सकिएपछि अदालत उपस्थित गराइएको हो। काठमाडौँ जिल्ला अदालतबाट समेत पक्राउ पुर्जी जारी भएकाले कास्कीमा म्याद थपेर काठमाडौँ लैजाने तयारी प्रहरीको छ।

लामिछानेलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिनको म्याद थप भएको थियो। उनी ४० दिन कारागार बसिसकेका छन्।

लामिछानेविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले सूर्यदर्शन सहकारीलगायतको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ।

रास्वपा स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित भएको छ। यद्यपि निर्वाचन हुन लागेको सबै क्षेत्रमा पार्टीले उम्मेदवारी दिन सकेको छैन। पार्टी केन्द्रीय समितिको बुधबारको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरूमा केन्द्रीय नेताहरू खटाएर मंसिर ८ र ९ मा भेला गर्ने निर्णय गरेको थियो।

रास्वपा केन्द्रीय सदस्य एवं स्थानीय तह उपनिर्वाचन संयोजक गणेश पराजुलीले सभापति लामिछाने पक्राउको विरोधमा भएको आन्दोलन हालका लागि स्थगित गरेर पार्टी उपनिर्वाचनमा लागेको बताए। उनले राजनीतिक प्रतिशोधविरोधी आन्दोलनका साथसाथै पार्टी स्थानीय तहको उपनिर्वाचनका केन्द्रित भएको बताए। पराजुलीले भिडियो सन्देशमा भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ।’

प्रकाशित: ९ मंसिर २०८१ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast