आईपीएल–२०२५ को लिलामी आज, कुन टिमसँग छ बढी पैसा?

हिमाल प्रेस ९ मंसिर २०८१ १३:११
14
SHARES
आईपीएल–२०२५ को लिलामी आज, कुन टिमसँग छ बढी पैसा?

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा लिलामी आइतबारबाट सुरू हुँदैछ। आईपीएल–२०२५ का लागि साउदी अरेबियाको जेद्दामा लिलामी सुरू हुन लागेको हो। खेलाडीहरूको लिलामी सोमबारसम्म चल्ने छ। आईपीएलको अघिल्लो लिलामी दुबईमा भएको थियो। आईपीएलका १० फ्रेन्चाइजी टिमसहित प्रशंसकहरू मेगा लिलामीको प्रतिक्षामा रहेका छन्।

लिलामीमा कति जना खेलाडी?

यसपालिको मेगा अक्सनमा ५७७ खेलाडी लिलामीमा परेका छन्। सर्टलिस्ट गरिएका ५७७ मध्ये ३६७ भारतीय र २१० अन्य देशका खेलाडीहरू छन्। जसमध्ये चार खेलाडी एसोसिएट राष्ट्रका छन्। एसोसिएट राष्ट्रका खेलाडीहरूमा उन्मुक्त चन्द, अली खान, सौरभ नेत्रवलकर र ब्रैन्डन मैकमुलेन सामेल छन्।

सबै टिम मिलेर कुल २०४ खेलाडीमात्र खरिद गर्न पाउने छन्। जसमध्ये अधिकतम ७० जना विदेशी खेलाडी हुनेछन्। यसपालि सबै १० टिमसँग कुल ६४१ करोड भारतीय रूपैयाँ बाँकी रहेको छ।

सबैभन्दा बढी र कम उमेरका खेलाडी को?

भारतको बिहारबाट घरेलु क्रिकेट खेलिरहेका वैभव सूर्यवंशी यो मेगा अक्सनमा सामेल सबैभन्दा युवा खेलाडी हुन्। उनको बेस प्राइस ३० लाख रूपैयाँ राखिएको छ। सूर्यवंशीको जन्म २७ मार्च २०११ मा भएको थियो र अहिले उनी १३ वर्षका छन्।

त्यस्तै लिलामी प्रक्रियामा सामेल गरिएका इंग्ल्यान्डका जेम्स एन्डर्सन सबैभन्दा पाको खेलाडी हुन्। ४२ वर्षीय एन्डर्सनको बेस प्राइस १ करोड २५ लाख राखिएको छ। सन् २०१४ देखि टी–२० बाट बाहिर रहेका उनी कहिले पनि आईपीएलको हिस्सा बनेका छैनन्। यसपालि उनले पहिलोपटक आईपीएल खेल्ने सोच बनाएका छन्।

एन्डर्सनले जुलाई २०२४ मा क्रिकेटबाट सन्यास लिएका थिए। उनी टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा बढी विकेट लिने बलर हुन्।

पन्त, अय्यर र राहुलको कति छ बेस प्राइस?

५७७ खेलाडीमध्ये ८२ खेलाडीको बेस प्राइस २ करोडभन्दा बढी राखिएको छ। त्यस्तै २७ खेलाडीको बेस प्राइस १ करोड ५० लाख तोकिएको छ। यसबाहेक १ करोड २५ लाख, १ करोड ७५ लाख, ५० लाख, ४० लाख र ३० लाख रूपैयाँको बेस प्राइसको सूचीमा सामेल छन्।

यसपालि लिलामीमा ऋषभ पन्त, केएल राहुल, मोहम्मद शमी, श्रेयस अय्यर, रविचन्द्रन अश्विन र युजवेन्द्र चहल रहेका छन्। यी सबै खेलाडीले बेस प्राइस २ करोड राखेका छन्।

त्यस्तै जोस बटलर, ग्लेन मैक्सवेल, मिचेल स्टार्क, डेभिड वार्नर, ट्रेन्ट बोल्ट, फाफ डु प्लेसिस, हैरी ब्रुक, जानी बेयरस्टो, एनरिक नोर्किया, कगिसो रबाडालगायतका बेस प्राइस २ करोड रहेको छ।

कुन टिमसँग छ सबैभन्दा बढी पैसा?

आईपीएल लिलामीमा यसपालि पञ्जाब किंग्ससँग सबैभन्दा बढी ११०.५ करोड रूपैयाँ रहेको छ। पञ्जाबले लिलामीअघि दुई खेलाडी शशांक सिंह र प्रभसिमरन सिंहलाई रिटेन गरेको छ।

त्यस्तै रोयल च्यालेन्जर्स बेंगलुरुसँग ८३ करोड रूपैयाँ बाँकी छ, यो कुनै टिमसँग भएको दोस्रो बढी रूपैयाँ हो। लिलामीमा सबैभन्दा कम पैसा ४१ करोड राजस्थान रोल्यससँग रहेको छ।

को हुनेछन् अक्सनर?

मेगा अक्सनमा मल्लिका सागर प्रस्तोता हुनेछन्। पछिल्लो आईपीएल लिलामीको प्रस्तोता पनि उनी नै थिए। मल्लिका कला क्षेत्रमा चर्चित अनुहार हुन्।

प्रकाशित: ९ मंसिर २०८१ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast