नियात्रा

च्याखुरासँग खेल्दै कोटडाँडादेखि गाम्चासम्म

राजाराम बर्तौला ८ मंसिर २०८१ १९:००
26
SHARES
च्याखुरासँग खेल्दै कोटडाँडादेखि गाम्चासम्म

शारदीय यामको पारिलो घाममा घरघरको आँगन करेसामा रंगीन फूलहरूको बहार फिँजारिएर उज्यालिएको उल्लसित वातावरण छ। घरमा खुम्चिएर बस्दा प्रकृतिको सुन्दर रचनाको आस्वादनबाट वञ्चित भइने पक्का छ। उही चार चण्डालको समूहले प्रस्ताव गर्‍यो, ‘के घरमा खाँदिएर बस्ने? जाऊँ हिँड काँठको शीतलता र जंगलको रमणीयतामा रमाउन कोटडाँडा हुँदै गाम्चेसम्म। फूलको सिजन छ, पुष्प उद्यान हेरौँला गाम्चामा। कोटडाँडामा खाना खाउँला र ओरालो झर्दै काँठैकाँठ पुगौँला। शंखादेवीमा नारायणको घर छ। शंखादेवीदेखि थापागाउँ हुँदै उकालो लाग्यो भने ज्यामिरेकोट पुगिन्छ। त्यहाँबाट कोटडाँडा।

काँठको कुरा गर्दा सहरको सुन्दरता भनेकै काँठ हो भन्ने हेक्का राख्दैनन्। काँठले नै हो हाम्रो संस्कृति र सभ्यताको संरक्षण गर्ने। काँठले गाउँ र सहरको बीचमा सेतुको काम गरिरहेको हुन्छ। काँठ एउटा सहरिया सभ्यताको संक्रमणशील प्रयोगशाला (ट्रान्सफरमेटिभ ल्याबोरेटोरी) हो।

काँठले केही पनि जानेको हुँदैन तर काँठ सर्वज्ञाता पनि हो। अर्थात् यो एउटा संक्रमणकालीन समयको दस्तक हो। भौतिक सुविधाले सहरसँग जोडिएको हुन्छ भने मानसिक चेतनाको तन्तु ग्रामीण परिवेशले खिचेको हुन्छ। यो एउटा रमाइलो र रसिक मिश्रण हो। सामाजिक धरोहरको धरहरा हो काँठ।

मलाई काँठको यही विशेषताले खिच्छ। अझ काँठको चिया दोकानमा जम्मा भएका लहडी लडका, बैँसका लाहुरे र कपाल फुलेका जेठा बाका तिन न तेह्रका गफ विचारोत्तेजक लाग्छ। विषयको उठान मात्र गरिदिनपर्दछ त्यहाँ सेक्सपियरदेखि देवकोटासम्म, सर आइज्याक न्युटनदेखि आइन्सटाइनसम्म, धरानको हर्के देखि काठमाडौँको बालेन, ओलीको बोली र प्रचण्डको गोलीसम्मका फिहरिस्त डिको नबिराई सुन्न पाइन्छ।

सबै रसको मधुरस, च्यवनप्रास सबै पाइने भएकोले काँठको हावामा स्वच्छता र माटोको गन्ध पाइन्छ र यो स्वास्थ्यवर्धक छ। त्यसैले ‘चार चण्डाल’को समूह घरिघरि कोटडाँडामा गएर अग्र्यानिक साग, दहीको स्वाद र सिलामको छोपमा चोपेर ढिँडो स्वाद लिन पल्केको छ।

भर्खरै सकिएको अविरल वर्षाले बर्खातमा पु¥याएको क्षति प्रस्टै देखिन्छ। पानीको वेगले कोपरेर छियाछिया बनाएका बाटाहरू, भित्तामा गएको पहिरोले ताछेर छोडेको डाम आलै देखिन्छन्। थापागाउँ माथिबाट आएको पहिरोले तिनचार घर बगाएर लगेछ। त्यसको निसाना ताजै छ। माटोमै पुरिएर ज्यान गुमाएकाहरुको चीत्कार माटोमै दबिएको पनि देखिन्छ। ओहो! गएको बर्खाले ज्याद्रै गरेछ। लेदोले पुरिएका खेतबारीहरुको अवस्था देखेर विरक्त लाग्छ। धेरैलाई रुवाएर आफू मुग्लान पसेछ मनसुन। यही दुःख हेर्न भनेर गएका त थिएनौँ तर साक्षात्कार नभई सुखै पाइएन।

थापागाउँबाट मोटरेबल बाटो लगिएको रहेछ उकालैउकालो। डोजरे विकासको नमुना राजधानीको नाकको डाँडीमुनि नै देखियो। बर्खाको खहरेले भित्तो ताछेर माटोको डंगुर थुपारेको, पहिरोले बगाएर लगेको विरुप खण्डहर यिनै बाटोमा नमुना बनेर तेर्सिएका थिए।

बाटो उक्लँदै गर्दा विद्यालय जान हिँडेका ससाना नानीदेखि वयस्क हुन लागेका तन्नेरी केटाकेटी भेटिए। विद्यालयको पहिरनमा थिए त्यसैले सोध्नै परेन कता हिँडेका हौ भनेर। बरु सोधियो, ‘तल फाँटमा विद्यालय छैन र केटाकेटी हो?’ उत्तर सहज, सरल र निर्मल थियो, ‘छ नि, किन नहुनु, तर हाम्रा लागि छैनन्।’ अर्थात् यी विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्न आधा घन्टाको उकालो हिँडेर जाँदैछन्।

यिनीहरु कमजोर आयस्तर भएका अभिभावकका सन्तान हुन् भन्ने बुझ्न कठिन थिएन। यिनीहरुको भाग्यमा पहेँलो बस चढ्न लेखिएको नै छैन। सामाजिक खाडलको यो अन्तर जन्मँदै बोकेर आउँछन् नेपालीका सन्तति। यिनै नानीहरुसँग गफिँदै हामी पनि उकालो लाग्यौँ। केहीबेरको हिँडाइपछि ज्यामिरेकोटस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय। सँगै गएका विद्यार्थीसँग फोटो खिच्यौँ र हिड्यौँ।

ज्यामिरेकोट भनेपछि उच्च पहाडी भागमा रहेको जमिन भन्ने बुझिन्छ। जसरी हामी कोटडाँडा भनेर जाँदै थियौँ र बसेर बिहानको खाना खाने जमर्को गर्दै थियौँ। ज्यामिरेकोटमा भने दृश्यावलोकनको आनन्द लिँदै थियौँ। बेसीले जमिनको फेदीमा रहेको समतल भागलाई जनाउँछ भने कोटले सर्लक्क मिलेको डाँडा।

यहाँबाट सहरको तिन चौथाई भागको अवलोकन गर्न सकिन्छ। यही रमणीयताका कारणले होला यहाँ गणेशको मन्दिरसमेत रहेको छ। सँगै माध्यमिक विद्यालय। फेदीबाट दुइतिन सय मिटर उचाइ माथि जंगलको बीचमा रहेको ज्यामिरेकोट सहरी दृश्यावलोकनका लागि उपयुक्त ठाउँ हो।

विद्यालयको अवलोकन गर्दै गर्दा मेरो नजर नीलो रङको हात धुने र शुद्ध पानी पिउनका लागि निर्माण गरिएको स्टेसनमा पर्‍यो। विद्यालयका विद्यार्थीले शुद्ध किटाणुरहित पानी पिउन पाऊन् भनेर म आफैँ रहेको संस्था स्प्ल्यास नेपालले केही वर्षअगाडि निर्माण गरिदिएको थियो। यसको प्रयोग कसरी भएको छ भनेर हेर्न कौतूहल जाग्यो। नजिकै गएर हेरेँ। यो त मृत अवस्थामा रहेछ। पानीको थोपो नझर्ने। दिक्क लाग्यो।

यसको निर्माणमा र पानी शुद्धीकरणका (आरओ प्रविधि) लागि राखेको छाल्ने (फिल्टर) मा समेत गरेर लाखभन्दा बढी खर्च गरेर बनाइएको धारा सामान्य मर्मत नगरेर प्रयोगविहीन अवस्थामा रहनु दिनु भनेको व्यवस्थापकीय कमजोरी मात्र देखियो।

धाराको अवस्था हेरेर फर्कँदै थिएँ– बाटोमा एकजना व्यक्ति भेटिए थापा काजी। उनै रहेछन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष। धारो छिटै मर्मत गरेर सञ्चालन गर्ने आश्वासन दिन भ्याए उनले। प्राकृतिक सुन्दरताले पूर्ण यो ठाउँमा यही निजी विद्यालय हुने थियो भने यसको प्रयोग विशिष्टीकृत ढंगबाट व्यावसायिक लाभलाई समेत हेरेर प्रचुर उपयोग गरिने थियो। यहाँसम्म आउने बाटा स्तरीय हुने थिए। तर सामुदायिक विद्यालयको अवस्था दयनीय रहेछ।

जंगलको बीचमा एउटा सम्म मिलेको थुम्को लाई तारबारले घेरेर राखेको रहेछ र भित्र प्रवेशका लागि ढोका पनि बनाइएको रहेछ। हामीलाई लाग्यो यस्तो सम्म मिलेको जमिन सहरको कुनै सम्भ्रन्त उद्योगपति वा व्यवसायीको हुनुपर्दछ। यसमा रिसोर्ट बनाउने उद्देश्यले लिइएको होला। हामीलाई त्यसको अवस्थिति अवलोकन गर्न मन लाग्यो। हामी सँगै भएका थापा काजीलाई सोधियो, ‘भित्र गएर कसरी हेर्ने होला त्यहाँ त ताला लागेको छ?’

खासमा त्यो जमिन उनैको रहेछ। केही वर्षअघि रोपनीको एक लाखको दरले बिक्री गरेका रहेछन्। सम्म मिलेको जमिन चाहिँ त्यही दुईचार रोपनी होला बाँकी भीरपाखो र जंगल। जमिन नापजाँच नगरी लालपुर्जामा जति लेखेको छ त्यसको मूल्य तिरेर लिनपर्ने सर्तमा कुनै एकजना पाइलटले किनेका रहेछन्। पुगनपुग सय रोपनी जति होला भन्थे। अहिले त्यो जमिनको हेरविचार गर्ने काममा पनि उनै थापाकाजी खटिएका रहेछन्।

सहयात्री मित्र महेन्द्र पनि हवाईसेवाकै उच्च तहको प्राविधिक विशेषज्ञ। आँखाले जमिनको सतह नापेर, थापाकाजीको कुराले मनको पत्र छामेर एकछिन टोलाए। के गर्ने मित्र आआफ्नो भाग्यको खेल हो। यही सेवाको म एउटा कथित वरिष्ठ प्राविधिक एउटा चारकोठे घरमा परिवारसहित साँघुरिएर बसेको छु। जीविका त मेरो पनि चलेकै छ। जीवनको गति पनि चलेकै छ। ‘जब जब देख्दछु यस्तो हाल मन हुन्छ बेहाल साथी’, उसले भन्यो। नियतिको नियत र प्रकृतिको न्याय एकै हुँदैन।

भित्र चउरमा प्रवेश गरेर काठमाडौँ उपत्यकालाई नजर लगाउँदै प्राकृतिक सुन्दरताको तृप्ति लियौँ। यो ठाउँमा भविष्यमा बन्ने आलिसान, सुविधा सम्पन्न, वातानुकूलित रिसोर्टको कोठामा बसेर सिसाको पारदर्शी झ्यालबाट वा त्यसको बरन्डामा वा प्रांगणको आरामदायी कुर्सीमा बसेर उपत्यकालाई नियाल्दा कस्तो अनुभूति होला भन्ने कल्पनामा रुमल्लियौँ र गफियौँ पनि। अवलोकन गर्दा नजिकै कुखुराको बथान चर्दै गरेको देख्यौँ।

‘यहाँ कुखुरा कसरी आयो’, मैले सोधेँ। थापाकाजीले भने, ‘यो कुखुरा हैन, जंगली च्याखुरा हो।’ ‘एउटा च्याखुरा समातेर लान प¥यो। कोटडाँडामा ढिँडोको स्वाद बढाउँछ’, मैले भने। च्याखुरा समात्ने होड चल्यो। चार घेरा हालेर पाखुरा सुर्कँदै समात्न खोज्दा पनि सकिएन। अन्ततः हामी थाक्यौँ। च्याखुराले हामीहरुलाई नचाउनु नचायो।

च्याखुराले पनि आफ्नो ज्यान बचायो। हामी थाकेर हैरान भयौँ र च्याखुरा अभियानलाई स्थगित गर्‍यौँ। अब वनको च्याखुरा नभएर घरपालुवा घडीचरोले नै काम चलाउने सहमति भएपछि हामी त्यहाँबाट उकालो लाग्यौँ। बाटोमा साथीले सोध्यो, ‘उस्तै देखिन्छ रङ, चालढाल र बनावट फेरि एउटा च्याखुरो र अर्को कुखुरो कसरी भयो साथी जवाफ चाहियो?’

संसद्को रोस्ट्रममा उभिएर बोलेको जसरी प्रश्न गर्‍यो साथीले। अर्को साथीले फ्याट्ट जवाफ दियो, ‘उही त हो नेता र जनता जस्तो के देख्दा उस्तै सवर्णी तर स्वभाव फरक, एउटा घरपालुवा अर्को जंगली।’

कोटडाँडामा ढिँडोको पानी उम्लिसक्यो होला अलि छिटो हिँड है साथी हो भन्दै हामी उकालो लाग्यौँ। बाटोमा तामाङका घर भेटिए। उनीहरुको बाख्राखोरसँग पनि जम्काभेट भयो। तामाङहरु आफ्नो रैथाने बास सहरका सम्भ्रान्तलाई बचेर बसाइँ सर्दै रहेछन्। पाखाका भिरालोभरि कम्पाउन्ड वाल लगाएका पक्का बंगला देखिए। प्राकृतिक परिवेशसँग मिल्ने गरी वास्तुविद्हरूले डिजाइन गरेर बनाएका घरहरु देख्दैमा रहरलाग्दा देखिन्थे। कोही जर्साबहरूका, कोही उद्योगपतिका, कोही ख्यातिप्राप्त पेसाविद्, कोही नेताका घर देखिए।

लाग्दै थियो- उपत्यकाको काँठको तल्लो खण्डमा किसान र त्यसको माथिल्लो भागका हरित सुन्दर ठाउँ सबै कि त व्यवसायीको कब्जामा गइसकेको रहेछ। कति त सप्ताहान्त बिताउन सम्भ्रान्तको आवासीय प्रयोजनका लागि शीतमहल बन्दै थिए। काठमाडौँ कंक्रिटको जंगल बन्दै जाँदा सहरभित्रका सम्भ्रान्त भने काँठका डाँडातिर सर्दै रहेछन्।

उकालो लाग्दै जाँदा उमेले केश फुलेका खाइलाग्दा एक जोडी भेटिए। चालढाल र मुहारको आभा देख्दा उच्च घरानिया हुन् भन्ने अनुमान लगाउन कुनै कठिनाइ थिएन। अंगुरबाबा जोशीले कुनै बेला यो अनकन्टार जंगलमा घर बनाएकी रहिछन्। उनैको पुत्र र पुत्रवधुसँगको भेट थियो योे। संयोग कस्तो भने हामी सबै एउटै कालखण्डमा जन्मेका समवयी। अवकाशको जीवन बिताउँदै रहेछन् यहीँको कटेजमा बसेर।

सम्भवतः सप्ताहन्त बिताउन आएका पनि हुन सक्दछन्। एकछिन रमाइलो भलाकुसारी गरेर बाटो लाग्यौँ। यहाँको परिवेश कवि, कथाकार वा उपन्यासकार वा साहित्यको कुनै विधामा पुस्तक लेख्दै गरेको होस् उसका लागि अति उपयुक्त देखिन्छ। यहीँ बसिरहुँ र प्रकृतिलाई नियालेर चित्र कोरिरहुँ जस्तो लाग्ने शुभ्र र शान्त।

कोटडाँडाको तातो ढिँडोले हामीलाई कुरिरहेको थियो। च्याखुरा नभए पनि घडीचरोको रसमा ढिँडो चोपलेर, अग्र्यानिक रायोको सागसँग बेरर उदरस्त गरेपछि हामीले त्यहाँबाट बाटो ततायौँ। यहाँदेखि पूर्व केही पर भन्ज्याङसम्म गएपछि लाँकुरीभन्ज्याङतर्फको उकालो नलागेर ओरालो लाग्यौँ। तल फेदी सिस्नेरीमा आयौँ। लाकुरी भन्ज्याङबाट बग्दै आएकी शृंगेरी खोलाको किनारमा शृंग ऋषिको मन्दिर छ। भनिन्छ यहाँ शृंग ऋषिले तपस्या गरेको कारणले यो खोलाको नाम शृंग खोला रहेको हो। गएको बर्खामा शृंग खोलाले गरेको ताण्डव हेर्दै झ¥यौँ र सिस्नेरीको किनारैकिनार उत्तरतर्फ लाग्यौँ। हामीलाई गाम्चा पुगेर पुष्पखेती हेर्नु थियो।

लामाटार हुँदै हिँड्दा बाटामा घरका आँगनमा फुलेका मखमली, सयपत्री, गोदावरी र अरू विभिन्न प्रजातिका फूलहरुले सजिएका बस्ती हेर्दै हिँड्यौँ। तोरी पाकेको मौसम थियो। पहेँलै तोरीबारी र यसको सुन्दरमा पनि रमायौँ। लामाटारबाट गैरीगाउँ हुँदै विन्दवासिनी मन्दिर पुग्यौँ। यहाँसम्म ललितपुर जिल्ला थियो।

अब अगाडिको पदयात्रा सूर्यविनायक नगरपालिका भक्तपुरमा हुँदै थियो। काठमाडौँमा नै बसेर यति लामो समयसम्म पनि यहाँको विन्दवासिनी मन्दिर पुगेको थिइनँ। विन्दवासिनी मन्दिरबाट केही अगाडि गएपछि एउटा कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ जहाँबाट सूर्यविनायक नगरपालिका, बिरुवा, भक्तपुर सुरु हुन्छ। यहाँबाट केही अगाडि बढेपछि हामी पुग्यौँ चखुँती।

चखुँती नेवारी शब्द भएको हुँदा यसको अर्थ तत्काल थाहा भएन। तर शिव मन्दिर छेवैको स्तम्भमा चराको आकृति राखिएको देखिँदा यो चरासँग पौराणिक कथ्य सम्बन्धित हुनुपर्दछ भन्ने लाग्यो। यो प्राचीन शिव मन्दिर हो। यहाँबाट केही अगाडि गएपछि पुगिन्छ गाम्चा दधिकोट। ठिमीको बाटो भएर पनि गाम्चा पुगिन्छ।

गाम्चामा छ नेपालकै ठूलोमध्येमा पर्ने एउटा पुष्प उद्यान (नर्सरी) उदय गार्डेन सेन्टर। यहाँ विभिन्न प्रजातिका घरभित्र र घरबाहिर सजाइने फूलहरुका बिरुवा र हुर्केका फूल पाइन्छन्। भित्र प्रवेश गरेपछि वाहिर निस्कन मनै लाग्दैन। फूलहरूसँग खेली रहुँ लाग्छ। महाकवि देवकोटाले भनेको जस्तो, ‘उद्यानमा गई बस सब तत्त्व खुल्छन्।’ यहाँ आएर बसेपछि लाग्छ जीवनको रहस्य यी फूलका पत्रपत्र जस्तै छन्। यसै गरी फुल्छन्, फक्रन्छन्, मुर्झाउँछन् र खस्छन्।

खाली हात फर्कने कुरा त भएन घरभित्र राख्ने बाँस प्रजातिको एउटा वनस्पति किनेर झोलामा राखेँ र त्यहाँबाट पुनः हिँडेर जसरी गइएको थियो त्यसै गरी शंखादेवीसम्म आइयो। शंखादेवी आइपुग्दा झमक्क साँझ परेको थियो। खुट्टा गलेका थिए तर मन फूलजस्तै फक्रिएको थियो।

प्रकाशित: ८ मंसिर २०८१ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast