चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताएका हुन्।
उनले भने, ‘अब मिल्नुको विकल्प छैन, विभाजनको शृंखला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन।’ देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।
प्रचण्डले भने, ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन्। अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाएको छ।’
कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिए।