जेलेन्स्कीको आरोप, रूस शान्तिका पक्षमा छैन, पुटिन भन्छन्, जुनसुकै परिस्थिति सामना गर्न तयार छौँ

हिमाल प्रेस ७ मंसिर २०८१ १३:५१
4
SHARES
जेलेन्स्कीको आरोप, रूस शान्तिका पक्षमा छैन, पुटिन भन्छन्, जुनसुकै परिस्थिति सामना गर्न तयार छौँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिर : एपी/रासस

काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस शान्तिका पक्षमा नरहेको आरोप लगाएका छन्। रुसले युक्रेनी भूमिमा नयाँ ब्यालिस्टिक मिसाइल आक्रमणपछि राष्ट्रपति जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ। ‘युक्रेनमाथि ब्यालिस्टिक मिसाइल आक्रमण हुनु भनेको रूसलाई शान्तिमा कुनै रुचि छैन भन्ने थप प्रमाण हो’, उनले बिहीबार साँझ आफ्नो सम्बोधनमा भनेका छन्।

जेलेन्स्कीका अनुसार यो आक्रमण रूसी नेता भ्लादिमिर पुटिनको युद्ध तीव्र बनाउने ‘दोस्रो कदम’ हो। उनले १० हजारभन्दा बढी उत्तर कोरियाली सैनिकलाई द्वन्द्वमा प्रयोग गर्नु पहिलो कदम भनेका छन्। जेलेन्स्कीले भने, ‘पुटिनले चीन, ब्राजिल, युरोपेली देशहरू, संयुक्त राज्य अमेरिका र अन्य देशहरूको आह्वानको बेवास्ता गरी द्वन्द्वलाई लम्ब्याउन सबै कुरा गरिरहेका छन्। यसको सुरुवात एक हजार दिनभन्दा अगाडि भएको थियो।

रुसको पछिल्ला गतिविधिबारे संसारले जबाफ दिने बेला आएको उनले बताए। उनले भने, ‘रूसको गतिविधिप्रति कडा प्रतिक्रिया नहुनु यस्तो व्यवहार स्वीकार्य छ भन्ने सन्देश दिन्छ।’ जेलेन्स्कीले रूसलाई वास्तविक शान्तिमा बाध्य पार्न बल प्रयोगबाट मात्र सम्भव रहेको दाबी गरेका छन्। अन्यथा युक्रेनमाथि अन्त्यहीन रूसी आक्रमण, धम्की र अस्थिरता जारी रहने उनको भनाइ छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान पूर्वी युक्रेनी सहर ड्निप्रोमा गरिएको आक्रमण युक्रेनले रूसभित्र प्रहार गरेको जवाफमा गरिएको बताएका छन्। पुटिनले अमेरिकी र बेलायती लामो दुरीका हतियारको प्रयोग गरी युक्रेनले आक्रमण गरेको बताएका हुन्। उनले यस्ता हतियार उपलब्ध गराउने देशका सैन्य संरचनामा आक्रमण गर्न सक्ने चेतावनी पनि दिए। पुटिनले भने, ‘रूस कुनै पनि परिस्थिति सामना गर्न तयार छ। कसैले यसमा शंका गर्नुपर्ने छैन।’

पुटिनका अनुसार युक्रेनमाथि नयाँ मध्यम दुरीको क्षेप्यास्त्र प्रहार गरिएको हो।

प्रकाशित: ७ मंसिर २०८१ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast