मोरङ- मोरङमा दुई मोटरसाइकल आसपमा जुध्दा तीन युवाको मृत्यु भएको छ। घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ।
बिहीबार साँझ पूर्व-पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी-३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका -५ का ३३ वर्षीय दीपक धिमाल, मोरङकै कानेपोखरी गाउँपालिका-४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका-८ का २६ वर्षीय अमित लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद जोशीले जानकारी दिए।
‘तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो,’ डीएसपी जोशीले सुनाए, ‘दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे -५ का ३८ वर्षीय विष्णु धिमालको अहिले झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि चिन्ताजनक छ।’
धिमालको अरनिको अस्पताल उर्लाबारीमा, गुरुङको मदन भण्डारी अस्पताल मंगलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो। दुर्घटनामा परेका दुवै मोटरसाइकल कसले चलाएको थियो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।
मृतक दीपक र विष्णु नातेदार भएका बताइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी जोशीले बताएका छन्।