काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको छ।
नेपालको औपचारिक भ्रमणमा रहेका द्विवेदीलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको उपाधि प्रदान गरेका हुन्।
समारोहमा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरे।
उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमनत्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरू, राष्ट्रपति कार्यालय, रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका सचिव, नेपालका लागि भारतीय राजदूत र विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरूको उपस्थिति रहेको थियो।
नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधानसेनपातिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ।
दज्र्यानी चिह्न प्रदान कार्यक्रमपश्चात राष्ट्रपति पौडेलसँग भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले शिष्टाचार भेटघाटसमेत गरेका थिए।
यसअघि द्विवेदीले बिहीबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै उनलाई जङ्गीअड्डामा सम्मान गरिएको थियो। यस अवसरमा भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले जङ्गीअड्डा प्राङ्गणमा वृक्षारोपणसमेत गरेका थिए।
प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष द्विवेदीबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा दुई देशका सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। उक्त अवसरमा एकअर्का देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिने सम्बन्धमा समेत छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गीअड्डाले जनाएको छ।
प्रधानसेनापति सिग्देलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको सम्मानमा जङ्गीअड्डामा रात्रिभोजको आयोजना समेत गरेका छन्।