काठमाडौँ- सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरूले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारले आफुहरूसंग यसअघि गरेको सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन्।
सहकारी पीडितहरूको निर्णायक आन्दोलन भन्दै आयोजना गरेको प्रदर्शनका सहभागीहरूले पीडितहरूको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लेखिएको प्लेकाड प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न राजनीतिक दलका नेता लगाएत सवै गम्भीर हुनुपर्ने बताए। माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शनी नयाँ बानेश्वरसम्म पुगेको थियो। सो क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ।