२२ वर्षदेखि मौरीपालनमा थापा

हिमाल प्रेस ४ मंसिर २०८१ १३:५१
14
SHARES
२२ वर्षदेखि मौरीपालनमा थापा फाइल तस्बिर

दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध छन्। विसं २०५८ देखि मौरीपालन सुरु गरेका थापा हालसम्म निरन्तर यही व्यवसायमा छन्। त्यतिबेला घरेलु कार्यालयले मौरीपालनसम्बन्धी चारदिने तालिम दिएपछि यसतर्फ आकर्षित भएको थापाले बताए। दुई घारबाट मौरीपालन सुरु गरेका थापाले तालिम लिएपश्चात् मौरीपालन गर्न सकिन्छ भन्ने आँट आएको बताए।

शिक्षण पेसासँगै मौरीपालनलाई निरन्तरता दिँदै आएकाले उनी हाल शिक्षण पेसाबाट अवकाशपश्चात् पूर्णकालीन रुपमा मौरीपालनलाई अगाडि बढाउँदै आएक छन्। मौरीसँग खेल्दा सिकेको अनुभव अन्य कृषकलाई सिकाउने गरेको उनी बताउँछन्। उनले भने, ‘मौरीसँग खेल्दै गर्दा मौरीले धेरै कुरा सिकायो, अहिले आफूले सिकेको सीप अरू कृषकलाई बाँड्ने गरेको छु।’

कुनै समय ८२ घारसम्म रहेको उनीसँग हाल ४२ मौरी घार रहेको थापाको भनाइ छ। एक वर्षमा एक हजार एक सय किलोसम्म मह उत्पादन भएको बताउँदै थापाले वातावरण राम्रो भएको खण्डमा मह उत्पादन उच्च हुने थापाले बताए। उनले भने, ‘यहाँ उत्पादित महको माग माग उच्च भएका कारण पुर्‍याउनै सकिएको छैन, यहाँ उत्पादन भएको मह मलेसिया, बेल्जियमसम्म जाने गरेको छ।’ थापाका अनुसार मह प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुने गरेको छ।

कुनै बेला मह बिक्री नभएको अवस्था पनि थियो, तर अहिले माग निकै उच्च रहेको थापाले बताए। उनले भने, ‘महोत्सवमा मह बिक्री गर्न लैजान्थ्यौँ, बिक्री नभएर घर फिर्तासमेत ल्याउँथ्यौँ। तर अहिले अवस्था बदलिएको छ।’ कुनै बेला मौरीले शान्तसँग काम गर्ने तर कुनै बेला बिच्किएर टोक्नेसमेत गरेको उनको अनुभव छ।

थापाका अनुसार यहाँका अधिकांश कृषक मौरीपालनमा लागेका छन्। यहाँ उत्पादित महको माग विदेशमा समेत हुन थालेपछि कृषक उत्साहित बनेका छन्। प्राकृतिक मौरीपालन समूहमा आबद्ध ४१ घरधुरी मौरीपालनमा छन्। थोरैमा दुई घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ। थापाले भने, ‘यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन्।’ यहाँका कृषकले याममा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन्। मह उत्पादनका तीन याम उपयुक्त मानिन्छ।

दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ। एक हजारदेखि एक हजार तीन सय ३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उनको भनाइ छ। उनले भने, ‘चारैतिर खुलेको डाँडा र जङ्गल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ।’

कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकका रुपमा विकास गरेको छ। कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ। एक हजार एक सय ३४ मिटर उचाइमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताए।

प्रकाशित: ४ मंसिर २०८१ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast