इटहरीको फुटपाथ ‘क्लियर’ गर्न मेयर नै सडकमा

हिमाल प्रेस ४ मंसिर २०८१ ११:१८
6
SHARES
इटहरीको फुटपाथ ‘क्लियर’ गर्न मेयर नै सडकमा फुटपाथ ‘क्लियर’ गर्न सडकमै निस्किएर निर्देशन दिँदै इटहरीका मेयर हेमकर्ण पौडेल। तस्बिर : विवेक विवश रेग्मी

इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले फुटपाथ ‘क्लियर’ गर्न सडकमै निस्किएर निर्देशन दिएका छन्।

पछिल्लो समयमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, ठूला व्यापारिक महलबाटै सडक पार्किङले इटहरी अस्तव्यस्त हुन थालेको भन्दै ‘क्लियर’ गर्न निर्देशन दिएका हुन्।

अहिले इटहरी चौकको मुख्य राजमार्गदेखि पूर्व तथा पश्चिम लाइनका सडकहरू व्यापारीहरूले कब्जा गरिरहेको मेयर पौडेलको दाबी छ। निजी गाडी तथा व्यापारिक सवारी साधनले सडक कब्जा गरेको भन्दै तत्काल फुटपाथ खाली गर्ने अभियानमा लागिएको उनले बताए।

मंगलबार आफैँ फुटपाथ ‘क्लियर’ गराउँदै सडकमा निस्किएर पौडेलले निरन्तर अभियानमा लाग्ने बताए। ‘सडकहरू कब्जा नै जस्तो भएको छ । यात्रुहरू हिड्नसम्म ठाँउ छैन,’ उनले भने, ‘बारम्बार सडकमा सामाग्री बेच्न नपाइने भनिएपनि अटेर गर्नेहरूलाई फुटपाथको सामाग्री नियन्त्रणमा लिएका छौँ।’ फुटपाथको कारण दुर्घटनासमेत बढेको भन्दै तत्काल हटाउन उनले निर्देशन दिए।

व्यापारीसँगै सटरवालालेसमेत सडक पेटी नै ढाक्नेगरी बाहिर सामान बेच्न राखेपछि पैदल यात्रुलाई समस्या भएको गुनासो बढेकोले आफू अनुगमनमा निस्किएको मेयर पौडेलले बताए। उपमहानगरले नगर प्रहरीसहित ट्राफिक प्रहरी, नेपाल प्रहरी र उद्योगी व्यवसायीसहितको समन्वयमा सडक ‘क्लियर’ गर्ने अभियानमा लागेको जनाएको छ।

पूर्वकै एक प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै आएको इटहरीको बजार अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। खासगरी इटहरीको मुख्य चौक तथा आसपासमा हिँड्नसमेत सास्ती हुने गरेको छ।

पछिल्लो समयमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, व्यापारीहरूले सडकमै सामाग्री पर्दशन गर्दा सहर क्षेत्र कुरुप बन्दै गएको छ।

पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमा आवासीय क्षेत्रको विकास, पैदल यात्रु हिँड्ने छुट्टै व्यवस्था नहुनु, साइकल लेन नहुनु र जनसंख्याको उच्च वृद्धिका कारण इटहरी सडक पैदलयात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो।

यता नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरेले पैदल यात्री हिँड्ने सडक पेटी कब्जा गर्न नदिनेबारे आफूहरू सचेत रहेको बताए।

मुख्य बजार क्षेत्रमा सडकमा फुटपाथ पसल राख्दा दुर्घटनाको जोखिम हुने भएकाले हटाइने उनको भनाइ छ। इटहरीसहित प्रदेशका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन थप सुधार गरिने उनले जनाए।

प्रकाशित: ४ मंसिर २०८१ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast