काठमाडौँ- सशस्त्र प्रहरी असई थमन विक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले महोत्तरीको जलेश्वरबाट देवेन्द्र चौधरीलाई पक्राउ गरेको हो।
पक्राउ परेका चौधरी जलेश्वरस्थित राविम कलेजका व्यवस्थापन समिति अध्यक्ष हुन्। उनलाई प्रहरीले सोमबार कलेज प्राङ्गणबाटै पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी स्राेतले दिएकाे जानकारी अनुसार पक्राउ परेका चाैधरीलाई साेमबार अदालतसमक्ष उपस्थित गराउने तयारी छ। असई विक हत्या घटनामा जिल्ला अदालत महोत्तरीबाट पक्राउ पुर्जी जारी भएका चौधरी प्रहरीको फरार सूचीमा थिए।
विक हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत महोत्तरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ। अदालतको फैसला आएसँगै लोसपा प्रदेश संसदीय दलका नेता शर्मा फरार छन्।
यसका साथै यही मुद्दामा अदालतले विक्की साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोली साहलगायतका सम्पत्ति रोक्का गर्न आदेश जारी गरेको थियो।
विक हत्यामा संलग्न रहेको आरोप लागे पनि एमाले नेत लक्ष्मी कोइरी र पवन कापडले भने जिल्ला अदालतबाट सफाइ पाएका थिए।
दोस्रो मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वरमा आक्रमणमा परी विक घाइते भएका थिए। थप उपचारका लागि जनकपुर ल्याउने क्रममा आन्दोलनकारीले महोत्तरीको प्रकौलीनजिक एम्बुलेन्सबाट थुतेर उनको हत्या गरेका थिए।