काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरेका छन्। सोमबार काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको र उनको निधनले देशलाई ठूलो क्षति भएको बताए। ‘नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ,’ ओलीले भने, ‘संसदीय अभ्यास कस्तो हुने भन्ने विषयमा उहाँले गरेको काम इतिहासले सधैँ सम्झिरहनेछ।’
ढुंगानाको निधन आइतबार भएको हो। त्यस्तै आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। उनीप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुगेका छन्। साथै अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि श्रद्धाञ्जली दिन पुगेका छन्।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनको निधनमा सरकारले आज देशैभर शोक बिदा पनि दिएको छ।