
काठमाडौँ– सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव हुँदा पठनपाठन अवरुद्ध भएको छ। शिक्षक पदपूर्तिका लागि विद्यालयले पटकपटक विज्ञापन खुलाए पनि आवेदन नपरेपछि पठनपाठनमा समस्या उत्पन्न भएको हो।
केदारेश्वरी माध्यमिक विद्यालय, सुण्डमुण्ड, दार्चुलाका प्रधानाध्यापक तीर्थराज विष्ट दुर्गम क्षेत्रका विद्यालय विषयगत शिक्षक अभावबाट गुज्रिरहेको बताउँछन्।
विज्ञान शिक्षकका लागि आइतबार (मंसिर २ गते) आठौँपटक विज्ञापन खुलाएका विष्ट भन्छन्, ‘दार्चुला आफैँमा विकट जिल्ला हो। विद्यालय सदरमुकामबाट टाढा छ। विकट ठाउँका विद्यालयमा मात्र होइन अन्यत्र पनि विषयगत शिक्षक नपाइएको अवस्था छ।’
सरकारबाट शिक्षकलाई कुनै प्रकारका प्रोत्साहनका कार्यक्रम नहुँदा शिक्षण पेसामा आकर्षण घटेको प्रधानाध्यापक विष्टको बुझाइ छ।
शिक्षक पेसा आकर्षित र मर्यादित नबनाइँदा शिक्षक पाउन गाह्रो भएको बताउँदै प्रधानाध्यापक विष्टले मावि तहका शिक्षक निजामती सेवामा जान थालेको बताए। ‘यो नेपाल सरकारको गम्भीर त्रुटि हो। विभिन्न प्रकारका सेवासुविधा भइदिएपछि मावि तहका स्थायी शिक्षक छोडेर चौथो तहको खरिददार, नायबसुब्दामा जाने थिएनन्,’ विष्ट भन्छन्।
सरकारले अध्यापन अनुमतिपत्र अनिवार्य गरेका कारण त्यसको असर विषयगत शिक्षकमा परेको विष्टले बताए। मावि तृतीय श्रेणी गणित विषयका स्थायी शिक्षक विष्ट भन्छन्, ‘शिक्षक सेवा आयोगको नियमावलीअनुसार शिक्षक हुन अध्यापन अनुमतिपत्र अनिवार्य चाहिन्छ। यस्तो अनुमतिपत्र सबैसँग हुँदैन। विषयमा दक्ष भए पनि अध्यापन अनुमतिपत्रकै कारण मानिसहरू शिक्षण गर्नबाट वञ्चित छन्।’
केदारेश्वरीले संघीय अनुदानमा मावि विज्ञान शिक्षकका लागि गत भदौ ६ गते प्रथमपटक विज्ञापन गरेको थियो।