‘तेल भिसा’ बारे निर्देशक घिमिरे : आफैँले भोगेको घटना समेटेको छु

सुस्मिता बजगाईं ५ मंसिर २०८१ ७:१५
44
SHARES
‘तेल भिसा’ बारे निर्देशक घिमिरे : आफैँले भोगेको घटना समेटेको छु 'तेल भिसा' का निर्देशक शंकर घिमिरे।

काठमाडौँ-  ‘तेल भिसा’ सुन्दा प्रश्न उठ्न सक्छ, यो कस्तो खालको भिसा (प्रवेशाज्ञा) हो? नेपाली जनमानसमा यो शब्द व्यंग्यका रूपमा प्रयोग हुन थालेको छ- छोराछोरीले आफ्ना सन्तान स्याहारसुसार गर्न बाआमालाई विदेश बोलाएका सन्दर्भमा। हुन पनि युरोप, अमेरिका र अस्ट्रेलिया जाने ५५-६० वर्ष उमेरका अधिकांश दम्पतीको उद्देश्य ती देशमा पुगेर नातिनातिना स्याहारसुसार गर्नु रहेको हुन्छ। व्यस्त जीवनशैलीका कारण आफूले स्याहारसुसार गर्न नभ्याउने भएकाले विदेशमा सन्तान जन्मिएपछि नेपालमा रहेका बाआमा बोलाउने परम्परा नै बसिसकेको छ।

यही विषयमा केन्द्रित रहेर फिल्म बनेको छ- ‘तेल भिसा’। शंकर घिमिरेले निर्देशन गरेको फिल्म मंसिर ७ देखि प्रदर्शन हुँदैछ। एक दशकभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएका घिमिरेले आफैँले भोगेको र देखेको समस्यालाई मुख्य विषयवस्तु बनाएर फिल्म निर्माण गरेका हुन्। यसअघि उनले ‘ब्रेक फेल’, ‘विष’, ‘वीरताको चिनो’ र ‘तुलसी’ फिल्मको निर्देशन गरेका थिए।

केही समयअघि विदेशमा एउटी हजुरआमाले नातिनीको नांगो फोटो फेसबुकमा हालेको पोस्टले उनले त्यहाँ कानुनी झमेलामा परेको घटना बाहिरिएको थियो। फिल्मको ट्रेलर हेर्दा कतिपय दर्शकले फिल्म उक्त घटनासँग प्रभावित हो कि भनेर अडकलबाजी गरिरहेका छन्। निर्देशक घिमिरेका अनुसार फिल्म त्यो घटनाबाट मात्रै प्रभावित छैन।  घिमिरेले ‘तेल भिसा’ मा जाँदा भोगेका समस्यालाई आधार बनाएर फिल्म बनाएको बताए।

‘फिल्ममा मुख्य कथा एउटा छ भने त्यसमा थुप्रै हाँगाबिगा छन्। त्यसमा यस्ता थुप्रै सत्य घटना समेटेको छु। त्यो देखाउन जरुरी पनि छ’, उनले भने, ‘देशअनुसार नियमकानुन फरकफरक हुन्छ। त्यो नबुझ्दा कति घटना भइरहेको हुन्छ। फिल्ममा पनि त्यस्तै कथा छ।’

सन्तानले आफू बसेको देशको संस्कार, संस्कृति र नियम कानुनबारे बाआमालाई नसिकाउँदा अनेकौँ घटना भइरहेकाले यसबारे सचेत गराउन फिल्म बनाएको उनले बताए।

‘’तेल भिसा’मा गएका बाआमाले त्यहाँका बाटोको नियम, बच्चा हुर्काउने, मेसिनरी सामानको प्रयोग गर्नेजस्ता थुप्रै केसमा समस्या भोगेका उदाहरण छन्,’ उनले भने। यस्तो अवस्थामा छोराछोरीले बाआमालाई केही नीतिनियम सिकाएरमात्र विदेश बोलाउनुपर्ने उनको सुझाव छ।

‘नेपालबाट बाआमा बोलाइन्छ तर उहाँहरुलाई त्यहाँका नियम-संस्कारबारे थाहा हुन्न। नेपालमा जस्तै गर्नुहुन्छ। त्यसैले यस्तो घटना भइरहेका छन्। यस विषयमा पहिले नै छोराछोरीले त्यहाँको संस्कार र नियमबारे सिकाएर मात्र बाआमा लैजानु राम्रो हुन्छ। फिल्मको एउटा सन्देश यो पनि हो।’

उनले आफू अमेरिका नगएको भए यस विषयमा फिल्म बनाउन नसक्ने समेत बताए। ‘फिल्ममा कतिपय कथा मेरै भोगाइसँग पनि मेल खान्छ’, उनले भने, ‘म यूएस नगएको भए यो फिल्म बन्दैनथ्यो।’ नवजात सन्तानलाई तेल लगाउनमात्र नभएर लामो समयदेखि भेट्न नपाएका सन्तान र नयाँ सदस्यको मोहले बाआमा विदेश जाने गरेको निर्देशक घिमिरेले बुझाइ छ।

सम्पन्न देशमा गएका ९० प्रतिशत युवाहरु उतै बस्ने भएकाले सन्तान हुर्काउनका लागि छोराछोरीले बाआमालाई विदेश बोलाउने गरेका छन्। ‘बाआमाले सन्तान नदेखेको वर्षौँ भइसकेको हुन्छ। नातिनातिनी जन्मेपछि हजुरबाआमालाई कहिले देखौँझैँ हुन्छ। अनि अर्कोतिर छोराछोरीले बाआमा आइदिए सजिलो हुन्थ्यो र खुसी पनि हुन्थे भनेर सोचिरहेका हुन्छन्’, घिमिरेले भने, ‘सम्पन्न देशमा गएको ९० प्रतिशत नेपाली युवा देश फर्केको उदाहरण छैन। उतै घरजम गर्छन्। परिवार संख्या बढेपछि बाआमा सन्तान हुर्काउन जान्छन्।’

फिल्ममा आमाबुबाको मायाको कथा रहेको घिमिरेले बताए। समस्यामा पर्दा बाआमालाई बचाउन सन्तानले के कस्तो भूमिकामा प्रस्तुत हुन्छन् भन्ने रहेकोले दर्शकले रुचाउनेमा उनी विश्वस्त छन्। फिल्ममा विपिन कार्की, वर्षा शिवाकोटी, पूजा चन्द, बुद्धि तामाङ, सुशील क्षेत्री, अरुणिमा लम्साल, दिलीप रायमाझी, ऋचा घिमिरेलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ५ मंसिर २०८१ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast