काठमाडौँ– विशाल चौतारीमा अजंगको रूख। चम्किलो प्रकाशसँग खुसीका रङ छरिरहेको हाँगाबिँगा। बायाँतिर रातो रिबन बाँधिएको रूखकै पुटुस्स भुँडी। दृश्य हो थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को।
नाटकका लेखक, परिकल्पनाकार तथा निर्देशक केदार श्रेष्ठ हुन्। नाटकमा दुई पात्र छन्, मेनुका प्रधान र कर्मा। दुई पात्रको वरिपरि घुमेको नाटकमा नयाँ सदस्यको स्वागत गर्न प्रतीक्षारत दम्पतीको मनमा उत्पन्न भाव अभिव्यक्त गरिएको छ। नाटकमा मेनुका शिक्षिकाको भूमिकामा छिन् भने कर्मा चित्रकार।
पति आउने प्रतीक्षामा चौतारीमा रूखलाई अडेसो लागेर बसिरहेकी छन् मेनुका। त्यसपछि सुरु हुन्छ एक दम्पतीको प्रेमकथा। मानवीय सम्बन्ध र स्वास्थ्यसँग जोडिएको ढुकढुकी अनि रेडियोको ट्युन मेगाहर्जलाई जीवनसँग तौलिएको हृदयको कथा।
डेढ घण्टाको नाटकमा सात महिनाकी गर्भवतीको सुत्केरी हुने समयावधिलाई प्रस्तुत गरिएको छ। आमा बन्ने समयचक्रको अनुभवमा रमाइरहेकी छिन् मेनुका। उनीभित्र पश्चिमा संस्कृतिले गाँजिरहेको नेपाली समाजको बेबी फोटो सुटको चाहना छ। उनको उमंगले कर्मा पनि दंग छन्। साथै सन्तान कस्तो जन्मिएला भन्ने उत्सुक पनि।
हर्ष र उमंगसहितको प्रेमिल जीवनमा यस्तो मोड आउँछ जब उनीहरुले आमा या सन्तानमध्ये एक रोज्नुपर्ने। कथाले नयाँ मोड लिएपछि नाटकलाई द्वन्द्वमा यसरी धकेलिएको छ- स्वास्थ्यस्थितिका कारण ढुकढुकीलाई प्राण दिने कि त्याग्ने भनेर।
एकातिर आमा र अर्कोतिर धर्तीमा पाइला टेक्दै गरेको ढुकढुकीमध्ये जीवन उपभोग गर्न पाउने अधिकार कसको हो? यसको निर्णय कसले गर्ने? आमा, बा वा गर्भमा हुर्कँदै गरेको बच्चाको? यिनै सवालजवाफमा नाटक सकिन्छ।
नेपथ्य पात्रलाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘रूख रहुन्जेल फलको आस हुन्छ’ भन्दै मनोरञ्जनका नाममा भइरहेको भ्रूण हत्याजस्ता प्रसंगले मानव अस्तित्वमाथि प्रश्न गरेको छ।
नाटक हेरिसक्दा जीवनका घटनासँग जोड्दै अन्तमा मानव मनमा सहअस्तित्वको भाव हुनुपर्छ भन्ने सन्देश पाइन्छ। एक दम्पतीको स्नेह, समझदारी, विश्वास, हाँसो, खुसी र रोदनबीच आइपर्ने जीवनका उतारचढाव नियाल्ने क्रममा उनीहरुको मनोदशाले दर्शकलाई सोचमग्न बनाउँछ।
आधुनिकताका नाममा पश्चिमा संस्कृतिको नक्कल गरिरहेको हाम्रो समाजलाई नाटकले बेबी फोटोसुटको प्रसंगमार्फत व्यंग्य गरेको छ। नाटकमा निर्देशकले बालबालिकाको मनोभावना, कौतूहल र जिज्ञासालाई नेपथ्य पात्र आकृतिको चिठीमार्फत व्यक्त गरिएको छ। त्यस्तै पुँजीवाद र उपभोक्तावादी सोचबाट परिवर्तन हुँदै पात्रको मनोदशालाई विरोधाभास जीवनदर्शनसँग जोड्न खोजिएको छ।
जीवनमा कहिलेकाहीँ हतार गर्नुपर्छ, समय सधैँ आफ्नो पक्षमा नहुन सक्छ, उज्यालोलाई बिर्सन अँध्यारोको महसुस गर्न जरुरी हुन्छ, जस्ता संवादबाट मानवीय जीवनदर्शन अभिव्यक्ति गरिएको छ। अन्धकारपछिको उज्यालोलाई संकेत गर्दै बत्ती र स्विचजस्ता बिम्ब र प्रतीक मिश्रित काव्यात्मक संवाद शैलीमार्फत बन्द कोठाभित्र नाटकले दर्शकलाई पनि कौतूहलता थपेको छ।
नाटकमा हुनुपर्ने मुख्य तत्त्व मञ्चीय शैलीशिल्प हो। चौतारीको विशाल रूखकै हाँगामा फोटो स्टुडियो, गर्भवती रूख, अस्पताल निर्माणजस्ता सामाजिक संरचना निर्माणले निर्देशकको रंगमञ्चीय परिकल्पना आकर्षक छ। उक्त संरचनामार्फत रूख र मानवको अस्तित्वलाई जोड्ने उनको प्रयास कलात्मक छ। अस्पतालका दृश्यमा मल्टिमिडियाको प्रयोगले थप रमणीय बनाएको छ।
नाटकको कथा दुईको भेट, प्रेम र विवाहका प्रसंग आएका छैनन् केवल गर्भवस्थाको अन्तिम तीन महिनालाई फोकस गरिएको छ। गर्भवतीको भूमिकामा मेनुकाको अभिनय दर्शक केन्द्रित छ। उनको हिँडाइ, बोलीचालीमा आउने परिवर्तनले दर्शक उनीसँगै जोडिन्छन्। आफ्नो भावनासँगै बहकाउन सक्षम भएकी छन्। काव्य मिश्रित उनको हरेक संवादले आधुनिकवादप्रति प्रतिकार गरेझैँ लाग्छ। उनी आफूलाई मेटाएर भए पनि नयाँलाई जीवन दिनुपर्छ भन्ने भावतर्फ बगेकी छन्।
चित्रकारको काल्पनिक दुनियाँलाई अर्का कलाकार कर्माको वेषभूषा र दृश्यले नाटकलाई न्याय गरेझैँ देखिन्छ। त्यस्तै बाबु बन्दै गरेको उनको कर्तव्य निर्वाह गर्ने हरेक संवाद र दृश्यले दर्शकलाई केन्द्रित गरेको छ। डाक्टरको भनाइ र पत्नीको निर्णयमध्ये उनले उनले कुनलाई स्वीकार्र्लान? आफूसँगै दर्शकलाई पनि सोचमग्न बनाउन सफल छन्।
नाटकको मर्मलाई निर्देशकले कौतूहलबीच उनीमार्फत स्वीकारेका छन्। जसमा पतिको निर्णयअनुरुप सम्बन्ध र अस्तित्व बचाउनुपर्छ भन्ने भाव व्यक्त गरिएको छ।
समग्रमा नाटक प्रेम कथासहित मानवीय भावना र सहअस्तित्वसँग जोडिएको छ। पुरातनवादी सोच र आधुनिकतावादलाई जोड्दै निर्देशकले नाटकको कथामार्फत मानव मनको ढुकढुकी नाप्ने प्रयत्न गरेका छन्।
पारिवारिक समस्या र मानवीय सम्बन्धसँग जोडिएको नाटकलाई मानवतावाद र अस्तित्ववादबीच दाँज्नु अहिलेको पुस्ता र युग सान्दर्भिक छ। नाटक मण्डला थिएटर, थापागाउँमा मंसिर १६ गतेसम्म मञ्चन हुनेछ।