काठमाडौँ- कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकमा एमालेबाट डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन्।
आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै एमालेबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र वडा नम्बर ४ को अध्यक्षमा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित राजकुमार नकर्मीको गत साउनमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा (माओवादी) केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन्। त्यस्तै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का दिलकुमार महर्जनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहकार्य गर्ने सहमति भएको छ। कीर्तिपुरको मेयरमा एकीकृत समाजवादीले माओवादी केन्द्रका मेयर पदका उम्मेदवार र माओवादी केन्द्रले काठमाडौँ वडा नम्बर १६ मा एकीकृत समाजवादीका वडाध्यक्षलाई सघाउने सहमति दुवै दलबीच भएको छ।