अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद्का लागि छानेका कतिपय सदस्यमाथि गलत कार्य गरेको सहितका गम्भीर आरोपहरू लागेका छन्। त्यस्ता विवादित व्यक्तिहरूलाई छानेको भन्दै व्यापक आलोचना भएपछि ट्रम्पको अभियान रक्षात्मक बन्दै उनका निर्णयको बचाउ गरिरहेको छ।
ट्रम्पले आफ्नो भावी रक्षामन्त्रीका रूपमा छानेका पिट हेग्सेथमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो। उनले त्यसलाई अस्वीकार गरेका थिए। ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्जमाथि नैतिक पतनसम्बन्धी अनुसन्धान गरिएको थियो। ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपप्रति आशंका गर्ने व्यक्ति हुन्।
ट्रम्पले आगामी ज्यानुअरीमा पद सम्हाल्दा उनले छानेका यी व्यक्तिहरूलाई अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्छ।
सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण भए पनि उनको मन्त्रिपरिषद्मा छानिएका व्यक्तिहरूले द्विपक्षीय सुनुवाइका क्रममा व्यापक प्रश्नहरूको सामना गर्नु पर्नेछ।
ट्रम्पका विवादित रक्षामन्त्री
प्रहरीले शुक्रवार ट्रम्पले रक्षामन्त्रीका रूपमा छानेका हेग्सेथमाथि सन् २०१७ मा क्यालिफोर्निआमा एउटा यौन दुर्व्यवहारसम्बन्धी मामिलामा अनुसन्धान गरिएको बताएको छ।
फक्स न्यूजका प्रस्तोता उनले विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका थिए। त्यस क्रममा उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। हेग्सेथले चाहिँ यौन दुर्व्यवहार गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन्।
ट्रम्पका प्रवक्ता स्टिभन चङले भने, ‘हेग्सेथले सबै आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् र उनीमाथि कुनै अभियोग लगाइएको छैन।’
यसैबीच बीबीसीको अमेरिकी साझेदार सीबीएसले चाहिँ हेग्सेथलाई एक पटक उनले ‘श्वेत सर्वोच्चतावादी’ ट्याटू खोपेका छन् भन्ने सोचेर उनकै सैन्य सहकर्मीहरूले ‘आन्तरिक खतरा’ ठानेकोबारे रिपोर्टिङ गरेको छ। यद्यपि उनले आफ्नो कुनै पनि त्यस्ता उग्रवादी समूहसँग सम्बन्ध नभएको भन्दै अस्वीकार गरेका थिए। मिनसोटा न्याशनल गार्डका पूर्व सदस्य उनले आफ्नो ‘बाइसेप’मा ‘देउ भोट’ भन्ने ट्याटू राखेका छन्।
उक्त ल्याटिन वाक्यांशको अर्थ ‘गड विल्स इट’ अर्थात् ‘परमेश्वर यो चाहनुहुन्छ’ भन्ने हो। उक्त नारा मध्ययुगमा क्रिश्चियनहरूले धर्मयुद्धका बेला प्रयोग गरेका थिए। बीबीसीबाट