जनकपुरधाम–रामजानकी विवाहोत्सवमा जन्तीलाई निमन्त्रणा गर्न जनकपुरधामबाट नागरिक समाजसहितको टोली भारत उत्तर प्रदेशको अयोध्या प्रस्थान गरेको छ। जन्तीका लागि निमन्त्रणा र तिलकोत्सव कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट २५१ सदस्यीय टोली शनिबार अयोध्या प्रस्थान गरेको हो।
कार्यक्रममा सहभागी हुन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि अयोध्या जाने भएका छन्। उनको आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
आगामी मंसिर २१ गते जनकपुरधाममा रामजानकी विवाहोत्सव मनाइँदै छ। त्रेतायुगमा भगवान राम र माता सीताको विवाहसम्पन्न भएको मान्यताअनुसार जनकपुरमा हरेक वर्ष विवाहोत्सव कार्यक्रम भव्यताका साथ मनाइन्छ।
जन्तीमा सहभागी भएर वैवाहिक कार्यक्रम भाग लिन निम्तो दिन २५१ सदस्यीय टोली अयोध्या प्रस्थान गरेको हो।
प्रतिनिधिमण्डलमा विश्वहिन्दूपरिषद् नेपाल, जनकपुरका प्रमुख मनोजकुमार साह, जनकपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन्।
प्रतिनिधिमण्डल आइतबार राति अयोध्या पुग्ने र उक्त मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्ने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए।
जनकपुरधामबाट मुख्यमन्त्री सिंहसहितको टोलीको उपस्थितिमा सोमबार अयोध्यास्थित राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुने दासले बताए। विवाहपूर्व हुने छिनोफानो विधिलाई तिलकोत्सव भनिन्छ।
परम्परागत रुपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन रानीका लागि लत्ताकपडा गरगहनासँगै माखन, दहीच्यूरा, फलफूल पकवान मिष्टान्न सौगातस्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।