काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा गर्न इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउन नहुने बताए ।
उनले भने, ‘विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन्। गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ। तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस्।’
असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व संकलन हुन नसक्ने जनाउँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताए।
अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ।
राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्यमात्र नभई गौरवको विषय रहेको उनले बताए। ‘करदाता र कर प्रशासनबीच सौहाद्रपूर्ण वातावरण बनाउन आवश्यक छ। कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन,’ उनले भने।
कार्यक्रममा अर्थसचिव डा. रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताए। राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उनको भनाइ छ। उनले भने, ‘हाम्रो जिम्मेवारी कर संकलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो। मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफैँ बढ्छ।’
अहिले नेपालको अर्थतन्त्रमा केहि सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ। ‘हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न। हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘तरलता सहज अवस्थामा भए पनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन्। निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन।’ निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताए।
राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताए। अहिले बजारमा समग्र मागमा संकुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिद्धता उनले जनाए। त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाइ छ।