-हिमालयका देशहरूमा राजतन्त्रले गरेको जुलुमको समस्यालाई कुन चाहिँ भाषामा व्यक्त गरौं?
-भूटानमा मात्र दुई वर्ग छन्। एक,ठूला ठालू भनाउँदा अत्याचारी शोषकहरूको समूह र अर्को, विशाल संख्यक शोषित वर्ग
-हामी गोर्खा हौं, नेपाली होइनौं…
-भूटानलाई स्वतन्त्र अधिराज्य कायम राख्न जनसंख्या…५० लाख हुनुपर्छ
माथिका उद्घोष, कथन, वचन र माग देवीभक्त ‘लामिटारे’ का हुन् जसले भूटानको प्रजातान्त्रिक आन्दोलनबारे झण्डै ५० वर्षअघि (सन् १९७०) मै ‘दन्किँदो भूटान’ नामक पुस्तक लेखेर भूटानका ‘साँचा मालिक भूटानी जनता’लाई समर्पण गरेका रहेछन्।
पहिलो संस्करण निस्कँदा सिक्किम अधिराज्य भारतमा विलय भएको थिएन, तसर्थ उनले राजतन्त्र भएका ‘देशहरू’ भनेर सिक्किम, भूटान र नेपाललाई समेटेका हुन्। पुस्तक पढ्दै जाँदा यो तथ्य स्पष्ट हुन्छ। वि. सं.१९९४ मा चिराङ जिल्लाको लप्सीबोटेमा जन्मेका देवीभक्त (डीबी) लामिटारे २०७८ सालमा भारतको हरिद्वारमा देहत्याग गर्दा एक सन्यासी भईसकेका थिए।
पहिलो पटक यो पुस्तकको प्रकाशन भारतको बम्बईमा भएको रहेछ। राजालाई नभनेर जनतालाई देशको ‘साँचा मालिक’को रूपमा प्रस्तुत गर्ने भूटानीको कृति उस बखत भूटानमा छापिने कुरै थिएन। आज पनि छैन। किनभने आवरण फेरिए पनि चाला-माला-चर्तिकला उही छ, राजाकै हुकुमबाट शासन-प्रशासन चलेको छ। दोस्रो र तेस्रो संस्करण पनि प्रवासबाटै निस्केको तर पाठकहरू धेरै हुन नपाएको बुझिन्छ। भूमिगत पर्चा, पुस्तिकाहरू जस्तो। भूटानमा यस पुस्तकले प्रवेश पाउने कुरै भएन। थपमा, भारततिर गएको कुनै भूटानीले लामिटारेलाई भेटेको रहेछ भन्ने सूचना पाए त्यसैको भरमा दुःख दिने, दण्डित गर्ने गरेको चर्चा पनि पुस्तकमा भेटिन्छ।
कलम-युद्धका अगुवा
देवीभक्त लामिटारे इतिहासका साक्षी मात्र होइनन्, उनी क्रूर शासकका अन्याय,अत्याचार र शोषणविरुद्ध कलम-युद्ध छेड्ने भूटानका पहिलो लेखक हुन्–साहित्य परिषद् भूटानका अध्यक्ष गङ्गाराम लामिटारेको निष्कर्ष छ।
‘दन्किँदो भूटान’ को चौथो संस्करण पोहोर साल मात्र निस्केको रहेछ यद्यपि यसको ‘भूमिका’ भने लामिटारेले सन् २०२१ को जनवरीमै लेखेका रहेछन्। यसमा उनले नयाँ संस्करण प्रकाशन र सम्पादनमा प्रतिबद्ध विद्यापति मिश्र (भूटानी–हाल अमेरिका) र नेपालका अनुभवी पत्रकारले विनोद ढुङ्गेलको ‘सिर्जनशील जोडी’ लाई प्रकाशन कार्य सम्पन्न गर्न जिम्मेवारी सुम्पेका रहेछन्। तदनुसार जनसमक्ष आएको यो चौथो संस्करण पहिलो संस्करणको दाँजोमा निकै परिमार्जित देखिन्छ। पहिलो संस्करणका सामग्री पनि यसै करीब तीनशय पृष्ठको सचित्र ठेलीमा समावेश गरिएको हुँदा दुई संस्करणलाई दाँजेर हेर्न चाहनेलाई सजिलो हुने रहेछ। यस कृतिमा विनोेद ढुङ्गेलको सीप र परिश्रम टड्कारो देखिन्छ। विद्यापति मिश्र र स्वयं लामिटारेले यसको उल्लेख गरेका छन्। सन्दर्भग्रन्थहरूको अध्ययन र त्यसका आधारमा गरेको अनुसन्धान अनि त्यसपछि हरिद्वार पुगेर लामिटारेसँग गरेको विस्तृत अन्तर्वार्ता सङ्कलन समेटेर पुस्तकलाई अद्यावधिक र गहकिलो बनाइएको छ। सङ्कलन एउटा पाटो भयो भने नयाँ पुराना सामग्रीलाई सम्पादन गर्ने चुनौती अर्को पाटो भयो।
‘दन्किँदो भूटान’ पहिले लामिटारेका २० वटा लेखहरूको सँगालो मात्र थियो। त्यो पनि हिन्दीबाट नेपालीमा अनुवाद गरिएको। चौथो संस्करणमा विशेषतः तीनवटा अन्तर्वार्ता थपिएका छन् जसका आधारमा ढुङ्गेलले पूरक ‘दन्किँदो भूटान’ भनेका छन्। वास्तवमा यस कृतिको वजन आरम्भका मन्तव्य, भूमिका खण्ड र पुछारमा परेका परिशिष्ट र तस्बिरले बढाएका छन्। फेरि भूटानी आन्दोलनको मामिलामा गहिरो अध्ययन गरेका सम्पादक ढुङ्गेलको यसबारेको विवेचनाको बेग्लै महत्व रहन्छ। जस्तो, ढुङ्गेलका अनुसार, लामिटारे भूटानमा संवैधानिक राजतन्त्रको पक्षधरजस्ता लाग्छन्।
अन्तर्वार्ताहरूमा लामिटारेको भनाइ के भेटिन्छ भने संवैधानिक सीमाभित्र नरहे राजतन्त्र नै सकिन्छ। “भोटे राजाको हैसियत भने उसको व्यवहारमा निर्भर रहनेछ। जापान र बेलायतमा राजसंस्था रहेर पनि प्रजातन्त्रमा कुनै अप्ठ्यारो परेको छैन।” मुलुकमा प्रजातन्त्र (‘प्रजाराज’) भएन भने कम्युनिष्टको जन्म हुन्छ, र हिंस्रक गतिविधि हुन थाल्ने उनको यथार्थवादी अनुमान छ। लामिटारे विद्रोही भए पनि उग्र देखिँदैनन्। उग्र हुँदा हुन् त सबा लाख नेपालीभाषीलाई देशनिकाला गरेर नेपालतिर धपाउने वाङ्चुक राजवंशको खोइरो खन्ने थिए, तर त्यसो गरेका छैनन्। उल्टो, सन् १९८५ मा नागरिकता ऐन बनाई र त्यसलाई सन् १९५८ देखि नै लागू भएको घोषणा गर्नेजस्ता अमानवीय र प्राकृतिक न्यायको सिद्धान्तको खिल्ली उडाउने कदमलाई पनि सहन तत्पर देखिन्छन्। उनको शर्त के मात्र देखिन्छ भने निष्काशित नेपालीभाषीहरूले स्वदेश फर्किन पाउनु पर्छ। यो देशभक्त भूटानीको स्वाभाविक माग हो।
पहिलो पुस्तक
तर लामिटारेको सदाशयप्रति भूटानका हालका राजा जिग्मे खेसर वाङ्चुक सकारात्मक होलान्, नहोलान् यसै भन्न सकिने अवस्था छैन। किनभने उनको सरकारले नेपालीभाषीहरूलाई उठीबास लगाएका प्रदेशमध्ये गेलेफु जिल्लालाई आधुनिक ‘सचेतना शहर’ मा परिणत गर्न अग्रसर भएका छन्। भनिन्छ, राजा खेसर यसै परियोजनाको लागि लगानी आकर्षित गर्न अष्ट्रेलिया गएका हुन्, र हालै नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भूटानमा आमन्त्रण गरी ठूलो स्वागत-तिर पनि यसै अपेक्षाका साथ गरिएको हो।
यथार्थमा, ‘दन्किँदो भूटान’ त्यस देशका राजनीतिक र सामाजिक परिवेशको झलक दिने ‘समग्र’ कृति हो। विद्वान्, अन्वेषकहरूको लागि निकै उपयोगी। र, सम्पादकले दाबी गरेझैं आन्दोलनको मात्र सन्दर्भमा हेर्ने हो भने यो ‘पहिलो पुस्तक’ हुनसक्छ। भूटानबाट लखेटिएर नेपालमा शरणार्थी हुन पुगेका नेपालीभाषीहरूको कथा-व्यथाको प्रत्यक्ष वर्णनले भरिएका पुस्तक टेकनाथ रिजाल, डी. एन्. एस्. ढकाल र ओम ढुङ्गेलहरूले पनि लेखेका छन्। र, तिनले भूटानी अल्पसंख्यक समुदायप्रतिको राज्यको असहिष्णु नीतिप्रति अन्तर्राष्ट्रियजगत्को ध्यान आकृष्ट गरिसकेका छन्। हुन पनि हो, शासकहरूको ज्यादती सधैं ओझेल पर्ने कुरा पनि छैन। हत्केलाले सूर्य छेक्न सकिंदैन।