काठमाडौँ- सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
समितिले सार्वजनिक सेवा प्रसारण ऐन, २०५१ को दफाको उपदफा (८) बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले कार्यविधि, २०८१ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ।
मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, बजार व्यवस्थापन वा सूचना प्रविधि वा प्रसारण सम्बन्धी इन्जिनियरिङ क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव भएकाले दरखास्त दिन सक्नेछन्।
सूचना प्रकाशन भएको मितिले सात दिनभित्र अर्थात् मंसिर ७ गतेभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिन सकिने समितिले जनाएको छ।