काठमाडौँ- भारतको राजधानी नयाँदिल्लीमा प्रदूषणको स्तर गम्भीर बनेपछि सरकारी कार्यालयको समयतालिका फेरिएको छ। यसअघि विद्यालयको पठनपाठनलाई अनलाईन गरेको दिल्ली सरकारले सरकारी कार्यालयहरूको कार्यतालिका परिवर्तन गरेको हो।
दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले प्रदूषणको खराब अवस्थाका कारण सरकारी कार्यालयहरूको समय हेरफेर गरिएको जानकारी दिएकी छन्।उनले दिल्लीमा ट्राफिक र प्रदूषण कम गर्न सरकारी कार्यालयहरूलाई फरक–फरक समयमा सञ्चालनका गर्न निर्देशन दिइएको बताएकी छन्।
जारी भएको निर्देशनअनुसार महानगरको कार्यालय बिहान साढे ८ बजेदेखि साँझ ५, केन्द्र सरकारको कार्यालय बिहान ९ बजदेखि साँझ साढे ५ बजे र दिल्ली सरकारको कार्यालय बिहान १० बजेदेखि साढे ६ बजेसम्म सञ्चालन हुनेछ।
यसअघि बढ्दो प्रदूषणका कारण विद्यालयमा प्राथमिक तहको पठनपाठन अनलाईनमार्फत गराउन बिहीबार सरकारले निर्देशन दिएको थियो। पछिल्लो केही समययता भारतको राजधानी नयाँदिल्लीमा प्रदूषण उच्चस्तरमा वृद्धि भएको छ।