बाकु (अजरबैजान)- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ। सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ।
वन तथा वातावरण मन्त्रालयले कोप-२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा छुट्टाछुट्टै समूह निर्माण गरी वार्ता, छलफल र भेटवार्तामा सहभागी भइरहेको जनाएको हो।
सम्मेलनमा बिहीबार दिउँसोसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। उनी बिहीबार नै स्वदेश प्रस्थान गरेपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीले गरिरहेका छन्।
मन्त्री शाही र वनसचिव डा. दीपककुमार खरालले आज सम्मेलनस्थलमा नेपालका तर्फबाट भइरहेको कामकारबाही र तयारीबारे जानकारी दिन तथा समीक्षा गरी आवश्यक निर्देशन दिन कार्यक्रमको आयोजना गरेका थिए।
नेपालबाट यहाँ आएका सबै सहभागीहरू उपस्थित सो कार्यक्रममा मन्त्रालयले गठन समूहले हालसम्म गरेका कामका बारेमा जानकारी गरका थिए। कार्यक्रममा सहसचिवहरू धनिराम शर्माले जलवायु वित्त, डा महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, डा बुद्धिसागर पौडेलले संरचनाको पारदिर्शतामा अभिवृद्धि, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जीव राईले क्षमता अभिवृद्धि, उपसचिव धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दीपा ओलीले समावेशिताका विषयगत समूहले गरेका कामका बारेमा अवगत गराएका थिए।
त्यस अवसरमा मन्त्री शाहीले को–२९ सम्मेलनमा नेपालले प्राथमिकता दिएर राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाएको बताउँदै अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिए। उनले नेपालले उठाउँदै आएका जलवायु न्यायका विषयलाई सशक्त बनाउन सरकारी निकायका साथै नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्था सबैको सहयोग हुने आशा व्यक्त गरे।
आगामी मंसिर ७ गतेसम्म चल्ने कोप-२९ मा हालसम्म एक सय ९३ देशका सरकारी तथा गैरसरकारी प्रतिनिधि, विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थीलगायत गरी ७३ हजार जनाले सहभागिता जनाएको बताइएको छ। रासस