बंगलादेश विद्युत् निर्यात सुरु, नेपालले कति गर्छ आम्दानी?

हिमाल प्रेस ३० कार्तिक २०८१ १५:२५
30
SHARES
बंगलादेश विद्युत् निर्यात सुरु, नेपालले कति गर्छ आम्दानी?

काठमाडौँ– नेपालमा उत्पादित बिजुली भारतपछि आजदेखि बंगलादेशतर्फ निर्यात सुरु भएको छ। क्षेत्रीय विद्युत् व्यापारमा यो अर्को ऐतिहासिक परिघटना हो।

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुलकबीर खानले भर्चुअल प्रविधिमार्फत संयुक्त रुपमा स्वीच थिचेर विद्युत् निर्यातको सुभारम्भ गरे। नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ।

नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको छ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ। त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ। नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात आज मध्यान्ह १२ः३० बजेदेखि सुरु भएको हो। यसवर्ष (सन् २०२४) को वर्षायाममा विद्युत् निर्यात आजराति १२ बजेसम्म मात्र हुनेछ।

त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ देखि बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो।

केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो। यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्। नेपाल विद्युत् प्राधिकरणले वर्षायामको छ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षसम्म ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ।

प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (आजको विदेशी मुद्रा विनियम दर अनुसार आठ रुपैयाँ ६२ पैसा) पाउने छ। नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ।

प्राधिकरणले आज ११ घण्टा ३० मिनेट बंगलादेशतर्फ विद्युत् निर्यात गरी २८ हजार एक सय ६० अमेरिकी डलर पाउने छ। बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले बेहोर्नेछ।

मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले बेहोर्नेछ। नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन, भारत र बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी) बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो।

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि आजदेखि विद्युत् निर्यात सुरु गरिएको हो।

कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी विसं २०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो।

प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो। प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो।

प्रकाशित: ३० कार्तिक २०८१ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast