चन्द्रप्रसाद न्यौपानेको ४४ औँ कृति ‘इतिहासमा सिन्धुपाल्चोक’

हिमाल प्रेस २९ कार्तिक २०८१ २२:०२
96
SHARES
चन्द्रप्रसाद न्यौपानेको ४४ औँ कृति ‘इतिहासमा सिन्धुपाल्चोक’

काठमाडौँ– चन्द्रप्रसाद न्यौपानेले ‘इतिहासमा सिन्धुपाल्चोक’ ग्रन्थ प्रकाशन गरेका छन्। न्यौपानेको एकल प्रयासमा सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रलाई समेटेर ग्रन्थ प्रकाशनमा ल्याइएको हो।

महाकवि, समालोचक र अन्वेषणकका रूपमा पहिचान बनाएका न्यौपानेले २०५२ सालमा सिन्धुपाल्चोक जिल्लाका ७९ गाविसमध्ये फुल्पिङकोट गाविसको चिनारी ‘फुल्पिङकोट एक परिचय’ प्रकाशन गरेका थिए। त्यसपछि २०६० सालमा सिन्धुपाल्चोक जिल्लाको साहित्य, पत्रकारिता, कलाकारितालगायतका विषयमा ग्रन्थ प्रकाशन गरेका थिए।

उनले भने, ‘यतिले मात्रै जिल्लाको इतिहास अधुरो रहेको महसुस भयो। जिल्लाको भूगोल, राजनीति, शैक्षिक, साहित्यिक, खेलकुद, कलाकारिता, जिल्लागत कीर्तिमानलगायत अधिक विषयमा लेख्ने अठोट मनमा पलाएको थियो। यस ग्रन्थमा तत् तत् विषयलाई समेट्ने प्रयास गरेको छु।’

ग्रन्थमा जिल्लाको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक परिचय (पर्यटकीय स्थल, जलस्रोत, जलविद्युत्, नदी, कुण्ड, ताल, पोखरी र छहरा), संस्कृति (जनसंख्या, भाषा, धर्म, जातजाति) को विवरण छ। यसैगरी स्वास्थ्य, व्यापार व्यवसाय, खाद्यान्न बाली, वनसम्पदा, खनिज/प्रसाधन, यातायात, दैवीप्रकोप (२०२२-२०८१ असोजसम्मको संक्षिप्त विवरण), एनजीओ/आईएनजीओ/सहकारी, पालिकाहरूको परिचयजस्ता विषय समेटिएका छन्।

सिन्धुसँग राजामहाराजहरू, प्रधानमन्त्रीहरू, जिल्ला प्रशासन, प्रशासनिक विभाजन, २०१४ सालअघिका ग्रामपञ्चायत र प्रधानपञ्चहरू, परिषद्हरूको इतिहास, कांग्रेसको इतिहास, कम्युनिस्टको इतिहास, नेकपा पुष्पलाल, नेकपा (चौम), नेकपा माले/एमाले, नेकपा मसाल (श र स), नेकपा माओवादी, नेपाल मजदुर किसान पार्टी, बर्मा समूह, नयाँ शक्ति पार्टी, नेकपा विप्लव, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी आदिका विवरण ग्रन्थमा समेटिएका अन्य सामग्री हुन्।

यसैगरी २०१५ देखि हालसम्मका संघीय, प्रादेशिक सम्पूर्ण माननीयहरूको संक्षिप्त परिचय, जनवर्गीय संगठन, गाउँ फर्क राष्ट्रिय अभियान, जिल्ला पञ्चायत/जिल्ला विकास समिति/जिल्ला समन्वय समिति, सभापतिहरूको संक्षिप्त परिचय, गाउँ पञ्चायत निर्वाचन,  २०१८-२०४३ सम्मका सम्पूर्ण प्रधानपञ्चहरूका विवरण, गाउँ विकास समितिका अध्यक्षहरू, गाउँ/नगरपालिकाका जनप्रतिनिधिहरू, जिल्लाका केही राजनीतिक घटना विवरण, राजनीति एवम् विविध क्षेत्रमा अग्रसर व्यक्ति-व्यक्तित्व आदि ग्रन्थमा समावेश छन्

शिक्षामा सिन्धुपाल्चोक, गुरुकुल, सिन्धुमा विद्यालयहरूको इतिहास, विगतदेखि वर्तमानसम्मको शैक्षिक अवस्था, विद्यालय विस्थापित हुनाका कारण, सिन्धुका क्याम्पसहरू, सिन्धुपाल्चोकबाट विद्यावारिधि गर्नेहरूको विवरण, शिक्षक संघसंगठनहरूको इतिहास, जिल्लामा पुस्तकालयको इतिहास ग्रन्थका अन्य अध्ययनीय विषय हुन्।

यसका साथै ग्रन्थमा जिल्लाको खेलकुद इतिहास, दुई सयभन्दा बढी साहित्यकारहरूको परिचय, साहित्यिक-सांस्कृतिक संघसंस्था, केही सांस्कृतिक घटनाक्रम, प्रगतिशील लेखक संघ, नेपाली लेखक संघ, महत्त्वपूर्ण एवम् ऐतिहासिक कार्यक्रमको विवरण उल्लेख छ भने सयभन्दा बढी पत्रकारको परिचय समावेश छ।

कला क्षेत्रका केही प्रतिभा, कलाकारहरूको नामसूची, विविध क्षेत्रका १ सय जनाभन्दा बढी जिल्लागत कीर्तिमानी महानुभावहरूको संक्षिप्त विवरण, केही पुरातात्त्विक तस्बिरहरूलगायतका विषयमा संक्षिप्त विवरण प्रस्तुत गरिएको छ। ग्रन्थमा २ हजार ८ सयभन्दा बढी सिन्धुपाल्चोकेहरूको नाम समावेश भएको छ। न्यौपानेले भने, ‘यसरी जिल्लाको सम्पूर्ण विवरण समावेश भएको यो दोस्रो कृति हो। यसअघि तनहुँ जिल्लाको विवरण संकलन गरेर डिल्लीराम मिश्रले यस्तै ग्रन्थ लेख्नुभएको छ।’

ग्रन्थ तयारीका लागि आफूले जिल्लाका सबै वडा र टोलटोलमा पुगेर सामग्री संकलन गरेको जानकारी न्यौपानेले दिए। उनले भने, ‘पालिकाहरूले १० औँ लाख खर्च गरेर तयार पार्नुपर्ने ग्रन्थ एक्लो प्रयासमा तयार पारेको छु। ग्रन्थमा केही कमजोरी पनि होलान्, त्यसलाई औँल्याइदिने जिम्मा पाठकहरूकै हो।’

प्रकाशित: २९ कार्तिक २०८१ २२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast