सकियो रविको बयान, भाेलि पाेखरा लगिने

हिमाल प्रेस २९ कार्तिक २०८१ २०:४१
42
SHARES
सकियो रविको बयान, भाेलि पाेखरा लगिने

लुम्बिनी – सुप्रिम सहकारीको रकम ठगी अभियोगमा कास्कीबाट रुपन्देही ल्याइएका रास्वपाका सभापति रवि लामिछानेको तीन दिनपछि बिहीबार बयान सकिएको छ। मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा लामिछानेसँग ७४ वटा सवाल लिइएको सरकारी वकिल कार्यालय रुपन्देहीले जनाएको छ।

लामिछानेसँग बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको हो। लामिछानेलाई राति ८ : २५ बजे सरकारी वकिल कार्यालयबाट बाहिर लगिएको हो।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो। इलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्धा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भइसकेको छ।

सुप्रिम सहकारीमा लामिछानेको कनेक्सन र ठगीका बिषयमा लामिछानेसँग ७४ सवाला सोधिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए। उनका अनुसार तीन दिनमा सहज रुपमा नै बयानको काम सकिएको छ। बयान लिने क्रममा जिल्ला न्याधिवक्ता पौडेलसहित सरकारी वकिल कार्यालयका न्याधिवक्ता र प्रहरी प्रमुखको उपस्थिति रहेको थियो।

बयानका क्रममा लामिछानेले आफू सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सदस्य नै नभएको भन्दै इन्कार गरेको स्रोतले बताएको छ। प्रहरी अधिकारीहरूले लामिछानेलाई कडा सुरक्षा घेराका बीच सरकारी वकिल कार्यालय प्रवेश गराएको थियो।

यसअघि मंगलबार बयान दिएर कार्यालयबाट बाहिरिँदै गर्दा लामिछानेले ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरी प्रशासन सजग बनेको थियो। रुपन्देही प्रहरीले बुधबार कार्यालय प्रवेश गराउँदा चौतर्फी प्रहरी राखेर प्रवेश गराइएको थियो।

इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयान पश्चात अदालतमा पेस गर्नेछ। मंगलबार करिब ५ , बुधबार ९ घण्टा बढी र बिहीबार ७ घन्टा बयान लिइएको हो।

सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

यसमध्ये सुप्रिमको करिब एक अर्ब ऋण प्रवाहमध्ये जीबी राई जोडिएका संस्था, कम्पनी र व्यक्तिको मात्रै ७० प्रतिशत बढी अर्थात् ७० करोड रकम नै हिनामिना भएको संसदीय प्रतिवेदनमा उल्लेख छ। लामिछानेलाई शुक्रबार बिहान जहाजबाट पोखरा लगिनेछ।

प्रकाशित: २९ कार्तिक २०८१ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast