काठमाडौँ- आईसीसी यू–१९ महिला विश्वकपमा स्थान सुनिश्चित गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीले जनही साढे दुई लाख रूपैयाँ पाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार यस्तो घोषणा गरेको हो। क्यानले एसिया छनोट टिम र अफिसियललाई पुरस्कृत गर्ने घोषणा गरेको हो। क्यानले जनाएअनुसार खेलाडीले २ लाख ५० हजार र अफिसियलले १ लाख ५० हजार पाउनेछन्।
बुधबार घरेलु टोली युएईलाई पराजित गर्दै नेपाली टोलीले विश्वकपका लागि स्थान पक्का गरेको थियो। दोस्रो संस्करणको विश्वकपका लागि नेपाल पहिलोपटक छनोट भएको हो।
एसिया छनोटका ६ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो। युनाइटेड अरब एमिरेट्स (युएई) मा भएको आइसीसी यू–१९ खेलेर नेपाली टोली बिहीबार साँझ स्वदेश फर्किँदै छ।
नेपालले विश्वकपमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ। यसअघि यू–१९ महिला क्रिकेट टोलीले मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसियाकपमा सहभागी जनाउने छ। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने तालिका छ।