लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले सभापति रवि लामिछानेको समर्थनमा बिहीबार मोटरसाईकल र्यालीसहित प्रदर्शन गरेका छन्।
पार्टी सभापती लामिछानेलाई मंगलबारदेखि बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा बयानका लागि रुपन्देही ल्याएपछि रास्वपाका कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्।
लामिछानेको तेस्रो दिन बिहीबार बिहान साढे १० बजेदेखि बयान चलिरहेको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा जिल्ला न्याधिवक्ता प्रेमराज पौडेलको नेतृत्वमा बयान लिइएको छ। रास्वपाका कार्यकर्ताहरुले बिहीबार बुटवलदेखि भैरहवा जिल्ला अदालत अगाडिसम्म मोटरसाइकल र्याली निकालेका हुन्।
राजनीतिक प्रतिशोधका आधारमा रविलाई फसाइएको र ८७ अर्ब सहकारीको घोटालाका विषयमा सरकार उदासीन भएकाले प्रदर्शन गरिएको रास्वपाका नेता गणेश पौडेलले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई प्रहरी घेराबन्दीमा सरकारी वकिलको कार्यालयमा लगिएको थियो। सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सुप्रिमको रकम ठगी प्रकरणमा बयानका लागि ल्याइएको रूपन्देही प्रहरीले जनाएको छ।