निर्माण सम्पन्न हुँदै रानी-धरान ६ लेन सडक

धरानको ५ किलोमिटर भने अनिश्चित

विवेक विवश रेग्मी ३० कार्तिक २०८१ ७:०२
10
SHARES
निर्माण सम्पन्न हुँदै रानी-धरान ६ लेन सडक धरान-रानी सडक खण्डको इटहरीस्थित सडक। तस्बिर : विवेक विवश रेग्मी

इटहरी– विराटनगरको रानीदेखि धरानको जिरो प्वाइन्टसम्मको ४९ किलोमिटर सडकमध्ये हालसम्म ४२.५ किलोमिटर सडकमा ठेक्का लागेर काम भइरहेको छ। जसमध्ये कतिपय ठाउँमा पूर्ण रूपमा काम सम्पन्न भइसकेको छ। धरान क्षेत्रको ५ किलोमिटर सडक निर्माण भने अझै अनिश्चित छ।

रानी-विराटनगर-इटहरी-धरान सडक योजना कार्यालय इटहरीका अनुसार २१ वटा खण्डमा लागेका ठेक्कामध्ये हालसम्म १७ वटा खण्डमा पूर्ण रूपमा निर्माण भइसकेको छ। चारवटा खण्डमा भने काम भइरहेको छ। धरानको ५ किलोमिटर र दुहबीको ६३० मिटर सडकमा ठेक्का लाग्न बाँकी रहेको कार्यालयले जनाएको छ।

योजना कार्यालय इटहरीकी सूचना अधिकारी इन्जिनियर अस्मिता सुवेदीका अनुसार २१ खण्डमध्ये हाल इटहरी-धरान खण्डमा रहेको सेउती पुल, दुहबी-विराटनगर खण्डमा रहेको बूढीखोला पुल, चारकोसे क्षेत्र र दुहबी क्षेत्रको सडक निर्माण भइरहेको छ। त्यसमध्ये कतिपय क्षेत्रमा निर्माण अन्तिम चरणमा रहेको सुवेदीले बताइन्।

तरहराको पानीपियादेखि सेउती पुलसम्म ५.३ किलोमिटरको काम अन्तिम चरणमा रहेको र अब एक महिनाभित्र त्यस क्षेत्रमा निर्माण सम्पन्न भइसक्ने उनले बताइन्। उनका अनुसार त्यस क्षेत्रमा ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ।

‘यसअघि विविध कारणले ठेक्का लिएको कम्पनीले काम नगर्दा लामो समय लागेको हो,’ सुवेदीले भनिन्, ‘अहिले धमाधम काम भइरहेको छ। अब त्यस क्षेत्रमा एक महिनाभित्रमा काम सम्पन्न भइसक्छ।’

दुहबीको बजार क्षेत्रबाहेक १.३ किलोमिटर सडकमा ठेक्का लागेर काम भइरहेको छ। त्यसबाहेक दुहबी बजार क्षेत्रको ६३० मिटर सडकमा भने ठेक्का लाग्नै बाँकी छ। बजारमा मुआब्जालगायतका विविध कारणले गर्दा त्यहाँ ठेक्का लाग्न नसकेको उनले बताइन्।

२०५९ सालको राजपत्रअनुसार २५ मिटर छाडेर सडक बनाउनुपर्ने भए पनि दुहबीको बजार क्षेत्रमा ८.२३ मिटर मात्रै छाडेर बनाइएका कारण उल्झन आएको उनको भनाइ छ।

‘राष्ट्रिय राजमार्गमा २५ मिटर छाड्नुपर्ने र घरभन्दाबाहेक सडक सीमाअन्तर्गत ६ मिटर छाड्नुपर्ने भए पनि दुहबी क्षेत्रमा भने जम्मा ८.२३ मिटर मात्रै छाडिएको रहेछ,’ उनले भनिन्, ‘कतैतिर १५ मिटर छाडिएको र कतै २५ मिटर छाडिएको थियो। १५ मिटर छाडेर घर बनाइएका क्षेत्रमा पनि काम सम्पन्न भइसकेको छ। अब दुहबीको थोरै क्षेत्रमा मात्रै समस्या छ।’

२०६९ सालमा ठेक्का लागेर निर्माण सुरु भएको ६ लेन सडकको काम अघिल्लो वर्ष सक्नुपर्ने हो। आयोजनाले पटकपटक म्याद थप गरे पनि हालसम्म निर्माण सम्पन्न भइसकेको छैन। अब धरानको ५ किलोमिटरबाहेक अरू सबै क्षेत्रमा चालु आर्थिक वर्षभित्र काम सम्पन्न भइसक्ने आयोजनाको दाबी छ।

आयोजना कार्यालयको हालसम्मको तथ्यांकअनुसार ठेक्का लागेको ८ अर्ब ८४ करोड रकममध्ये ९० प्रतिशत खर्च भइसकेको छ।

ठेक्का लागेर कतिपय क्षेत्रमा यसअघि काम नहुनुको कारण भनेको ठेकदार कम्पनीकै दोष रहेको समेत आयोजनाले जनाएको छ। एकपटक ठेक्का लागिसकेपछि उक्त योजना तोड्न नमिल्ने र तोडेको अवस्थामा कम्पनीले अदालतको आदेश ल्याउने भएकाले पनि कतिपय क्षेत्रमा ढिलो काम भएको आयोजनाका अधिकारीहरू बताउँछन्।
‘कतिपय ठाउँमा साइड क्लियरेन्स र जग्गा विवादले बेलैमा काम गर्न सकिएन,’ सुवेदी भन्छिन्, ‘तर अब भने कहीँ पनि रुग्ण अवस्था छैन।’

धरानमा अनिश्चित

सुवेदीका अनुसार धरानको काम भने अनिश्चित छ। मुआब्जाको कुरा र साइड क्लियरिन्सको समस्याका कारण धरानमा ६ लेन सडकको काम अगाडि बढ्न नसकेको उनले बताइन्। ‘हामीले डेढ वर्षअघि नै स्थानीय सरकारसहित सरोकारवाला निकायसँग बैठक बसे पनि काम गर्न सकिएन,’ उनले भनिन्, ‘हाम्रो तथ्यांकअनुसार धरानमा एक हजार पाँच सय घर भत्किन्छ। ती घर नभत्किएसम्म धरानमा साइड क्लियरेन्स नहुँदा काम गर्न सकिँदैन।’

धरानमा दुईथरी कुरा भएका कारण पनि समस्या भएको हो। यहाँ एक हजार पाँच सय घर भत्काउने भनेर यसअघि चिनो लगाए पनि स्थानीय सरकारको ‘असहयोग’का कारण काम गर्न नसकिएको आयोजनाको दाबी छ।

‘एकपटक घरहरूमा चिनो लगाउने काम पनि भयो। तर मुआब्जा दिएको हो वा होइन भन्ने तथ्यांक नभएकाले पनि समस्या भएको हो,’ सुवेदी भन्छिन्, ‘धरानमा बाइपास गरेर सडक बनाउनुपर्छ भन्ने पनि कुरा उठेको थियो। योजनाअनुसार बाइपास हुँदैन।’

उनले योजनाअनुसार बाइपास भएर सडक नबन्ने जिकिर गरिन्। यसअघि नापी कार्यालयले चिनो लगाउने काम गरे पनि धरानमा हालसम्म ठेक्का प्रक्रिया अगाडि नबढ्दा निर्माणको काम अनिश्चित भएको हो।

एकतर्फी मानिसले घर भत्काएर सडक बन्नुपर्ने र अर्कोतर्फीले भने बाइपास गरेर सडक बन्नुपर्ने अडान राखे पनि हालसम्म निष्कर्ष निस्किएको छैन। आयोजना कार्यालयका अनुसार सडकमध्ये हालसम्म वित्तीय ९० प्रतिशत र भौतिक ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अब धरानको तीनकुनेदेखि जिरो प्वाइन्टसम्म ५ किलोमिटर र दुहबीको बजार क्षेत्रमा ६३० मिटर सडकमा ठेक्का लागेर काम सुरु हुन बाँकी छ।

निर्माणाधीन रहेको दुहबी र चारकोसे क्षेत्रसहित दुईवटा पुल निर्माणाधीन रहेकाले चालु वर्षभित्रै काम सम्पन्न गरिसक्ने आयोजनाले जनाएको छ। १० अर्ब ९८ करोडमा सम्पन्न हुने लक्ष्यसाथ सुरु भएको ६ लेन सडकको काममा धरानबाहेक अरू सबैतिर निर्माण भइसक्ने निश्चित छ। सुनसरीको मुख्य सहरका रूपमा रहेको धरानमा भने यो योजना कार्यान्वयन गर्ने विषयमा स्थानीय सरकार उदासीन छ।

धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईले आयोजनाको काम तत्काल सुरु गर्नेगरी ६ लेन सडकलाई घटाएर चार लेन बनाउन प्रयास गरेका थिए। उक्त प्रयास सहमतिनजिक पुगेको थियो।

धरानमा मेयर हर्कराज राई (हर्क साम्पाङ) आइसकेपछि उदासीन हुँदा सडक निर्माणको काम अनिश्चित भएको जानकारहरू बताउँछन्। धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले भने सडक विभागसँग ठोस छलफल नभएको बताए।

‘यसअघि सडक विभागले क्लियर गरिदिनु भनेर पत्र मात्रै पठाएको थियो। कत्रो बनाउने, के बनाउने भन्नेबारे ठोस निर्णय वा छलफल भएको छैन,’ श्रेष्ठले भने, ‘यो सडक बनाउनुपर्ने नेपाल सरकारको सडक विभागले नै हो तर यहाँका जनतासँग छलफल गर्न जरुरी छ।’

उनले कति फुटको सडक बनाउने भन्नेबारे धराने जनतासँग व्यापाक छलफल गर्न आवश्यक रहेको बताए। उनले भने, ‘यस विषयमा उपमहानगरले मात्रै निर्णय गर्न सक्दैन। सबै जनतासँग छलफल गर्न आवश्यक छ।’

उनका अनुसार यसअघि सडक विभागले सानोतिनो रायसुझाव बुझ्ने काम गरे पनि निर्णयात्मक छलफल गर्न नसकेको सुनाए। खासगरी चारकोसे क्षेत्रमा ७२ फुटको सडक बने पनि बजार क्षेत्रमा कति फुटको बनाउने भन्नेबारे छलफल गर्नुपर्ने उनको भनाइ छ।

सडक क्षेत्राधिकार अनुसार २०५ फुट हुनुपर्ने भए पनि त्यसो नभएको र अहिले घरजग्गा किनबेचदेखि बैंकमा धितो राख्नेसम्म भएका कारण पनि चरणचरणमा छलफल गर्नुपर्ने इन्जिनियर श्रेष्ठले बताए।

‘तत्काल कति फुटको बनाउने भन्नेबारे जनतासँग नै छलफल गर्नुपर्छ, यसबारे उपमहानगरले मात्रै निर्णय गर्न सक्दैन,’ उनले थपे।

प्रकाशित: ३० कार्तिक २०८१ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast