काठमाडौँ- पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पनि बयान लिइने भएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा पुर्याइएका उनलाई दुई दिन लगातार बयान लिँदा पनि सकिएको छैन। उनलाई सुप्रिम सहकारीको ठगी प्रकरणमा छानबिनका लागि मंगलबार बुटवल लगिएको हो। सोही दिन पनि उनलाई ५ घण्टा बयान लिइएको थियो।
बुधबार ९ घण्टा बयान लिँदा समेत नसकिएपछि आजलाई सारिएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले आज पनि बयान जारी रहने बताएका छन्। बयान अन्तिममा पुगेर तर रुजु गर्न बाँकी रहेकाले आजलाई राखिएको पौडेलको भनाइ छ। लामिछानेले इन्कारी बयान दिएका थिए।
स्रोतका अनुसार आफू सहकारी प्रकरणमा नमुछिएको लामिछानेको अभिव्यक्ति थियो। हालसम्म बुटवलमै पनि प्रहरीले १४ घण्टा बयान लिइसकेको छ।
सुप्रिम सहकारीबाट सवा १४ करोड रूपैयाँ गोर्खा मिडियामा गएको बारे लामिछानेमाथि छानबिन भइरहेको छ। त्यसबाहेक लामिछानको नाममा मात्र थप २ करोड रूपैयाँ अनियमित तरिकाले निकासा गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ।
बयानको क्रम नसकिएकाले रविको रूपन्देही बसाइँको क्रम पनि लम्बिएको छ। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको छ। कास्की जिल्ला अदालतले उनलाई पछिल्लोपल्ट १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ, जुन मंसिर ८ गते सकिनेछ।
अनुसन्धानको क्रम नटुंगिए प्रहरीले पुनः अदालतमा पेस गरी म्याद थपका लागि आग्रह गर्न सक्नेछ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा रवि लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्याइएको थियो।