काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीले ताजिकिस्तानसँग फराकिलो हार बेहोरेको छ।
सेन्ट्रल स्टेडियम, डुसान्बेमा बुधबार भएको खेलमा ताजिकिस्तानले पाहुना टोली नेपाललाई ४-० ले हराएको हो। ताजिकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे। फिफा वरीयता ७१ स्थानमाथिको ताजिकस्तानविरुद्व नेपाल चौथोपल्ट मैदान उत्रिएको हो।
यसअघि सन् २०१७ मा एसिया कप छनोटअन्तर्गत भएको दुई खेलमा नेपाल ३-० र २-१ ले पराजित भएको थियो। त्यस्तै अर्को वर्ष भएको मैत्रीपूर्ण खेलमा पनि ताजिकिस्तान २-० ले विजयी भएको थियो।
नेपालले अब शनिबार अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ।
प्रकाशित: २९ कार्तिक २०८१ ६:४८
प्रतिक्रिया