काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटीले ज्यान गुमाएका हुन् । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।
सिन्धुपाल्चोक घर भएर जोरपाटी बस्ने बा।१९ च २६९५ नम्बरको गाडी धनी झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ। झाँक्रीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए।
उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । ३५ वर्षीय भुजेल बुधबार मध्यान्ह दुर्घटना भएपछि फरार भएका थिए । सो गाडी उनले नै चलाएको अनुसन्धानबाट थाहा भएको छ ।
उनको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार चालककी पत्नी किसानुमाया नगरकोटी घाइते छिन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।