रवि लामिछानेको बयान दोस्रो दिन पनि सकिएन, सहकारीको रकम अपचलनबारे इन्कारी बयान

हिमाल प्रेस २८ कार्तिक २०८१ २१:१९
16
SHARES
रवि लामिछानेको बयान दोस्रो दिन पनि सकिएन, सहकारीको रकम अपचलनबारे इन्कारी बयान

लुम्बिनी- सुप्रिम सहकारीको रकम ठगी अभियोगमा कास्कीबाट रुपन्देही ल्याइएका रास्वपाका सभापति रवि लामिछानेको बयान दोस्रो दिन बुधबार पनि सकिएन। दोस्रो दिन बिहान सवा १० देखि जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा बयान लिइएको हो।

साँझ ७ बजेसम्म करिब ९ घण्टा लामिछानेसँग सुप्रिम सहकारीको रकम अपचलनका सम्बन्धमा विभिन्न सवालहरू गरिएको थियो। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले लामिछानेसँग जोडिएका विभिन्न सवालमा बयान लिइएको जनाउँदै अब अन्तिम चरणमा पुगेको बताए। ‘विभिन्न सवालमा बयान लिइयो,’ उनले भने, ‘अब अन्तिम चरणमा पुगेका छौँ।’ बयानका क्रममा लामिछानेलाई करिब ६० सवाल सोधिएको थियो।

जिल्ला न्यायाधिवक्ता पौडेलसहित सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान लिइएको हो। बयानका क्रममा लामिछानेले आफू सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सदस्य नै नभएको भन्दै इन्कार गरेको स्रोतले बताएको छ।

प्रहरी अधिकारीहरूले लामिछानेलाई कडा सुरक्षा घेराका बीच सरकारी वकिल कार्यालय प्रवेश गराएको थियो। यसअघि मंगलबार बयान दिएर कार्यालयबाट बाहिरिँदै गर्दा लामिछानेले ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरी प्रशासन सजग बनेको छ। रुपन्देही प्रहरीले बुधबार कार्यालय प्रवेश गराउँदा चौतर्फी प्रहरी राखेर प्रवेश गराइएको थियो।

इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयान पश्चात अदालतमा पेस गर्नेछ। लामिछानेले सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम गएको विषयमा अनभिज्ञता जनाउने गरेका छन्।

बयानमा पनि पटकपटक सहकारीको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै यस विषयमा जीबी राईले जिम्मेवार रहेको बताएका छन्। इन्कारी बयानकै कारण प्रहरीले बुधबार नै पोखरा फर्काउने तयारी गरे पनि बयान लम्बिएको हो।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले बताए।

सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। यसमध्ये सुप्रिमको करिब एक अर्ब ऋण प्रवाहमध्ये जीबी राई जोडिएका संस्था, कम्पनी र व्यक्तिको मात्रै ७० प्रतिशत बढी अर्थात् ७० करोड रकम नै हिनामिना भएको संसदीय प्रतिवेदनमा उल्लेख छ।

समर्थकको दिनभर प्रदर्शन

लामिछानेलाई बयान चलिरहँदा बुधबार पनि रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। बुधबार रास्वपाका उपसभापती डीपि अर्यालको उपस्थितिमा प्रर्दशन भएको थियो।

उनीहरूले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताउने गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८१ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast