काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका दलित, जनजाति र महिलाले संघीयता, गणतन्त्र र लोकतन्त्रको अनुभूति गर्न नसकेको बताएका छन्।
बीरगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मधेशको जनसंख्याको आधारमा राज्यका निकायहरूमा प्रतिनिधित्व हुन नसक्दा लोकतन्त्रको अनुभूति हुन नसकेको बताएका हुन्।
उनले मधेशका साथै हिमाली क्षेत्रका नागरिकले पनि भेदभावको सामना गर्नु परिरहेको उल्लेख गरे। संविधानले व्यवस्था गरेको कोटाबाहेक मधेशको प्रतिनिधित्व हुन नसकेको यादवले जिकिर गरे।
‘सेना, कर्मचारीतन्त्रलगायतका राज्यका निकायहरूमा एउटै समुदायको बर्चस्व कायम छ, संविधानले कानुनको नजरमा सबै बराबर हुने भनिएको छ, तर व्यवहारमा लागु भएको छैन,’ उनले भने,‘समानता नभएसम्म लोकतन्त्र, गणतन्त्र र संघीयताको अनुभूति हुन सक्दैन।’
अध्यक्ष यादवले राणा र पञ्चायतकालमा जस्तै अहिले पनि मधेशीसँग व्यवहार भइरहेको बताए। समानताका लागि एउटा लडाइँ अझै लड्नुपर्ने उनको भनाइ छ।
अहिलेसम्म कांग्रेस र कम्युनिस्टले मिलेर सरकार बनाएको उल्लेख गर्दै यादवले यी दुवै पार्टीले मुलुकको अर्थतन्त्रलाई धारासायी बनाएको जिकिर गरे।
उनले कम्युनिस्ट पार्टीले मधेशीलाई नेपाली नागरिक नमानेको आरोप लगाए। नागरिकता ऐन संसदबाट पारित भइरहँदा सबैभन्दा बढी विरोध कम्युनिस्ट पार्टीले गरेको यादवले स्मरण गराए।
कांग्रेस र कम्युनिस्टबाट देश चल्न नसक्ने प्रस्ट भइसकेको बताउँदै यादवले सरकारले निर्दोषलाई फसाउने काम गरिरहेको उल्लेख गरे। देश विकासका लागि कांग्रेस र कम्युनिस्टको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।
अधिकार नदिई प्रदेश सरकारलाई पंगु बनाइएको यादवले जिकिर गरे। उनले संविधान अपुरो रहेकाले पुर्नलेखन वा संशोधन गर्नुपर्ने उल्लेख गरे। कांग्रेस र कम्युनिस्ट मिलेर लोकतन्त्र अन्त्य गर्न षडयन्त्र गरिरहेको यादवले आरोप लगाए।