काठमाडौँ- प्रतिनिधिसभाका सांसदहरूले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हुन एसईई उत्तीर्ण र मावि शिक्षकका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण र ६ महिना तालिमको हुनुपर्ने प्रस्ताव गरेका छन्। विद्यालय शिक्षा विधेयक-२०८० माथि पेस गरेको संशोधनमा सांसदहरूले यस्तो प्रस्ताव गरेका हुन्।
सांसदहरू देवेन्द्र पौडेल, ज्ञानु बस्नेत सुवेदी, गंगा कार्की, मीना यादव र उमारावती यादवले पेस गरेको प्रस्तावमा बालविकास शिक्षक हुन एसईई उत्तीर्ण, आधारभूत तह (१-५) साधारण तर्फ कक्षा १२ उत्तीर्ण गरी ६ महिना शिक्षण सिकाइ सम्बन्धि तालिम प्राप्त, आधारभूत (६-८) स्नातक र माध्यमिक तर्फको ९-१२ कक्षाको शिक्षकको हकमा सम्बन्धित विषयमा कम्तिमा स्नातकोत्तर गरी कम्तिमा ६ महिनाको शिक्षण सिकाइ तालिम प्राप्त हुनुपर्नेछ।
त्यसैगरी कार्यरत शिक्षकको हकमा एक पटकको लागि पुरानो योग्यताक्रम हुनेछ सांसदहरूको संशोधन छ। प्राविधिक धारतर्फ प्रशिक्षकको हकमा स्नातक, सहायक प्रशिक्षकको हकमा प्रविणता प्रमाणपत्र वा सोसरह र प्रशिक्षण सहायकको हकमा टीएसएलसी हुनुपर्ने संशोधन ती सांसदहरूले हालेका छन्।
विद्यालय शिक्षा विधेयक-२०८० शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। उक्त विधेयकमाथि मंसिर १६ गते तय भएको उपनिर्वाचनपछि दफावार छलफल गरिने समिति सचिव दशरथ धमलाले जानकारी दिए।