काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’को दोस्रो गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक भएको छ। गीतमा आमाको महिमा वर्णन गरिएको छ। सत्यराज आचार्यले गाएको गीतमा बाबुल गिरीको शब्द र संगीत छ। गीतको भिडियोमा अभिनेत्री विपना थापा आमाको भूमिकामा छिन्। १३ वर्षपछि उनी फिल्म क्षेत्रमा फर्केकी छन्।
यसअघि ‘उठेर नाचिस्यो’ बोलको गीत चर्चित बनेको छ। साथै फिल्मको टिजर र ट्रेलरले पनि दर्शकलाई फिल्मप्रति आकर्षित बनाएको छ। फिल्म यही कात्तिक ३० मा प्रदर्शन हुनेछ।
फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम्, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय छ।
फिल्मका निर्देशक चन्द्र पन्त हुन्। कलाकार हरिहर अधिकारीको कथा रहेको फिल्ममा प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरकै पटकथा तथा संवाद लेखन छ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा अभिनेत्री नीता ढुङ्गानाले नै लगानी गरेकी छन्। फिल्म नेपालीसहित तेलुगु र हिन्दी भाषामा पनि प्रदर्शन हुनेछ।