काठमाडौँ- आगामी मंसिर १६ गते उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेसँगै धमाधम उम्मेदवार घोषणामा लागेको छ। आज मात्रै काठमाडौँको कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रले आज उम्मेदवार घोषणा सभा गरेको छ।
कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो। माओवादीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डा. शिवशरण महर्जनलाई उमेदवार बनाउने घोषणा गरेको छ। बुधबार भएको उम्मेदवार घोषणा सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले सम्बोधन गरेका छन्।
कार्यक्रममा माओवादीको तर्फबाट मेयर पदका उम्मेदवार महर्जनले चुनाव जितेको दिन मात्रै खादा र माला लगाउने भन्दै उम्मेदवार घोषणासभामा खादा र माला लगाउन अस्वीकार छन्।
सत्तारुढ दल नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई कीर्तिपुरमा मेयरको उम्मेदवार बनाउने घोषणा गरेको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। अर्को सत्तारुढ दल कांग्रेसले भने अझै उम्मेदवार टुंगो लगाएको छैन।
कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। उनी कांग्रेसबाट निर्वाचित थिए। त्यसैगरी क्यान्सरकै कारण कीर्तिपुर १ का वडाध्यक्ष हीरालाल महर्जनको २०८० फागुनमा तथा मोटरसाइकल दुर्घटनामा परी वडा नं ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएको थियो।