कोशीमा कांग्रेस-एमाले संयन्त्रको बैठक : सरकार प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय

हिमाल प्रेस २८ कार्तिक २०८१ १०:४६
22
SHARES
कोशीमा कांग्रेस-एमाले संयन्त्रको बैठक : सरकार प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय

इटहरी- कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको दुई दलीय संयन्त्रको पहिलो बैठक सम्पन्न भएको छ। विराटनगरमा आज (बुधबार) बिहान एमाले कोशी प्रदेशका इन्चार्ज तथा कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक बसेको हो।

बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने, दुई दलीय संयन्त्र गठन सम्बन्धी जारी परिपत्रअनुसार संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिवद्धता भएको छ।

यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापतिले तोकेको एकजना प्रतिनिधि रहने व्यवस्था अन्तर्गत कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापालाई कांग्रेसको तर्फबाट संयन्त्र सदस्यमा थप गर्ने, प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक साताभित्र जिल्ला संयन्त्र गठन गर्ने निर्णय भएको छ।

यस्तै, सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने, कोशी प्रदेशको दुई दलीय संयन्त्र र सरकारका मन्त्रीहरूसँग प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा मंसिर १४ गते शुक्रबार विराटनगरमा छलफलको आयोजना गर्ने निर्णय भएको छ।

यसैगरी दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरूपता साथ प्रभावकारी ढंगले अगाडि बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरूको संयुक्त बैठक तथा छलफलको आयोजना आगामी २०८१ मंसिर २९ गते विराटनगरमा गर्ने निर्णय भएको छ।

बैठकमा एमालेका तर्फबाट पूर्व मुख्यमन्त्री शेरधन राईसहित वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की र एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा सहभागी थिए। यसैगरी कांग्रेसको तर्फबाट पार्टी कोशी प्रदेश सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापा सहभागी थिए।

प्रकाशित: २८ कार्तिक २०८१ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast