अन्तर्राष्ट्रिय उडानले भैरहवामा उत्साह, ३ जहाजको भेटले झनै रोचकता

हिमाल प्रेस २८ कार्तिक २०८१ ८:३४
44
SHARES
अन्तर्राष्ट्रिय उडानले भैरहवामा उत्साह, ३ जहाजको भेटले झनै रोचकता

लुम्बिनी- अन्तर्राष्ट्रिय उडान थालेका एक हप्तामै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतले वैकल्पिक विमानस्थलका रूपमा गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान थालिएको हो। गएको कात्तिक २३ बाट भैरहवाबाट उडान सुरु भएको हो।

अन्तर्राष्ट्रिय उडानका कारण विमानस्थल र यत्रतत्र उत्साह छाइरहेको छ। मंगलबार यही विमानस्थलमा गज्जबको संयोग जुर्‍यो, त्यो हो ठूला अन्तर्राष्ट्रिय विमान कम्पनीका ३ जहाजको भेट। मंगलबार दिउँसो फ्लाई दुबई, जजिरा र कतार एयरवेजका जहाज भेट भएका थिए। मंगलबारदेखि कतार एयरवेजको गौतमबुद्धमा पहिलो उडान सुरु भएको थियो।

कतार एयरवेजको पहिलो उडान ऐतिहासिक भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। ‘कतार एयरवेज ए ३३ को ऐतिहासिक र पहिलो अवतरणसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन एयरलाइन्स (फ्लाई दुबई, जजिरा र कतार) को एकै पटक भेट’ महाप्रबन्धक तिवारीले फेसबुकमा भिडियो पोष्ट गर्दै भनेका छन्।

कतार एयरवेजको जहाज आएको केहीबेरमा जजिराको जहाजले उडान भरेको थियो। फ्लाई दुबई र कतार एयरवेजको जहाज पार्किङमा एकैचोटी देखिएको हो। मंगलबार बिहान मौसमका कारण उडान प्रभावित हुँदा जजिराको जहाज दिउँसो मात्रै भैरहवा अवतरण गरेको हो।

कतार र फ्लाई दुबईको समय सँगसँगै भएकाले उनीहरू भेट भएका हुन्। दोहाबाट उडेको एयरबस ३३० जहाजले नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति पाएको छ। कतार एयरवेजसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीको संख्या ५ वटा पुगेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए। यस अघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइएयर एशियाले उडान गरिरहेका छन्।

 

प्रकाशित: २८ कार्तिक २०८१ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast