इलाम- नगदेवालीका रूपमा परिचित अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपैयाँका दरले कारोबार भइरहेको छ। अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो।
स्थानीय बजारमा मात्र होइन भारतमा पनि अलैँचीको मूल्यमा सुधार आएको छ। नेपाली अलैँचीको मुख्य बजार भारतमा साताको पहिलो दिन सोमबार नेपाली अलैँचीले मूल्य पाएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले बताए।
‘आज भारतको बजारमा गुणस्तरीय अलैँचीको नेपाली मूल्य एक लाख दुई हजार कायम भएको छ। यसलाई अलैँचीको बजारमा देखिएको सुधारको संकेत मान्नु पर्छ,’ उनले भने।
अध्यक्ष पौडेलले भने, ‘यहाँ उत्पादित ५० प्रतिशत अलैँची हाम्रो बजारबाट बाहिरिएको छ। अब बाँकी ५० प्रतिशत अलैँची अर्को फसल उत्पादन हुनुअगाडि नै बाहिरिने अवस्था छ। यस कारण पनि अलैँचीको मूल्यको संकेत राम्रो छ।’
उनले १२ वर्षपछि आइतबार अलैँची प्रतिमन (४० किलो)एक लाख रुपैयाँका दरले कारोबार भएको बताए। अलि साना दाना भएको अन्य जातको अलैँची भने प्रतिमन ९५ हजारदेखि ९९ हजार रुपैयाँसम्म कारोबार भएको पौडेलले बताए।
राम्रोसँग सुकाएर राखेको, पुच्छर काटेको अलैँचीको अझै मूल्य बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ। पौडेलले भने, ‘अलैँची जति राखे पनि बिग्रँदैन, असार–साउनमा टिपेर राम्रोसँग सुकाएर राखेको अलैँची आउँदो चैत महिनातिर बिक्री गर्दा पनि फरक पर्दैन। यस पटक किसानले आफैँ राम्रो मूल्य हात पारेका छन्।’
एक लाख रुपैयाँ प्रतिमनका दरले अलैँची बिक्री गर्न पाउँदा अलैँची खेती गर्न उत्साहित भएको सन्दकपुर–२ का किसानकुमार पौडेलले बताए।
‘यसअघि अलैँची बिक्री गरिसकेपछि मात्र अलैँचीको भाउ आउँथ्यो। यस पटक भने किसानको घरमै अलैँची हुँदा मूल्य आएको छ।’
पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभालगायतका जिल्लामा अलैँची खेती हुने गरेको छ।
कोकिला ढकाल/गोरखापत्र दैनिक