भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बढ्यो, भाडा घटेन

हिमाल प्रेस २६ कार्तिक २०८१ १३:२२
12
SHARES
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बढ्यो, भाडा घटेन भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको फ्लाई दुबईको जहाज। तस्बिर : विनोद परियार

काठमाडौँ- अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा अवरुद्ध हुने भएपछि नेपालबाट अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा जाने कामदारमा परेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साता उडान सुरु भएको हो। यस अवधिमा १७ वटा उडान भएको छ। त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द हुने भएपछि वायुसेवा कम्पनीले तेब्बरसम्म भाडा बढाएका छन्। सरकारले यस विषयमा चासो नदिँदा ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने कामदार रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

नेपाल एयरलाइन्सले पनि काठमाडौँ र भैरहवा जहाँबाट विदेश उड्दा पनि हवाईभाडा समान राखेको छ। भैरहवाबाट उडान गरिरहेको कम्पनीमध्ये थाई एयर एसियाले मात्र सहज र कम मूल्यमा टिकट बिक्री गरिरहेको छ। अन्य कम्पनीले दैनिक भाडा बडाइरहेको भण्डारीको दाबी छ।

‘एयरलाइन्स र ठूला ट्राभल एजेन्सीबीचको मिलेमतोका कारण टिकट पाउनै मुस्किल छ। पाइहाले पनि भाडादार अत्यधिक चर्को छ। त्यही भएर कामदार पठाउन समस्या भइरहेको छ’, उनले भने।

संघले गत शुक्रबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई भेटेर खाडीका देश र मलेसियामा वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूले अस्वाभाविक रूपमा चर्को हवाई भाडा तिर्नुपरेको विषयमा ध्यानाकर्षण गराएका थिए।

त्यसपछि पर्यटन मन्त्रालयले नेपालमा उडान गरिरहेका एयरलाइन्सलाई भाडादर पुरानै कायम गर्ने पत्राचार गरेको थियो। तर अहिलेसम्म एयरलाइन्स र ट्राभल्स एजेन्सीले हवाई भाडा नघटाएको अध्यक्ष भण्डारीको भनाइ छ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई आर्थिक बोझबाट बचाउन सिन्डिकेट र कार्टेलिङ गरी भाडा बढाइरहेका ट्राभल एजेन्सीमाथि कडाइ गरिदिनुपर्ने माग व्यवसायीको छ।

‘कात्तिक लागेपछि स्वाभाविक रूपमा केही मात्रामा भाडा वृद्धि हुने सिजन हो। तर यसपटक हवाई भाडामा वृद्धि अस्वाभाविक र मनोमानी भयो। यस विषयमा सरकार र सम्बन्धित निकायले चासो दिएका छैनन्’, भण्डारीले भने। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले अन्तर्राष्ट्रिय उडानमा बढेको हवाई भाडा नियन्त्रण गर्ने सरकारले सम्बन्धित एयरलाइन्स र ठूला ट्राभल एजेन्सीलाई पत्राचार गरेको जानकारी दिए। उनका अनुसार एयरलाइन्स र ठूला ट्राभल एजेन्सीले हवाई भाडा घटाउने आश्वासन दिएका छन्।

‘नेपालदेखि दैनिक ठूलो संख्यामा मान्छे बाहिर गइरहेका छन्। हवाईभाडा बढ्दा उनीहरूमाथि आर्थिक भार थपिन्छ। यस विषयमा छलफल भइरहेको छ’, उनले भने।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने गरी एयरलाइन्ससँग कुराकानी भइरहेको उनी बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल उडान सुरु भएपछि भाडादेखि अन्य सुविधामा सहज हुने दाबी मन्त्रालयको छ।

अन्तर्राष्ट्रिय उडानले ल्याएको खुसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast