अन्तर्राष्ट्रिय उडानले ल्याएको खुसी

यात्रु भन्छन् : नियमित उडान होस्

विनोद परियार २६ कार्तिक २०८१ ११:१५
208
SHARES
अन्तर्राष्ट्रिय उडानले ल्याएको खुसी दुबईबाट सीधै भैरहवा अवतरण गरेपछि खुसी भएका गुल्मी तम्घासका भूपालसिंह थापा र उनका भाइ भोजराज (बायाँ) र स्वागतका लागि विमानस्थल पुगेका आफन्त। तस्बिरहरू : विनोद परियार

लुम्बिनी– जब भैरहवाको आकाशमा फ्लाई दुबईको जहाज देखियो तब कपलिवस्तु वनगाईकी मुना थापा मगरको मुहार उज्यालो भयो। छोराछोरीका साथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहिर पतिको स्वागतका लागि मुना पर्खिरहेकी थिइन्।

दिउँसो सवा २ बजे दुबईबाट सीधै भैरहवा अवतरण गरेका पतिलाई स्वागत गर्न पाएकोमा उनी दंग थिइन्। ‘आफ्नै घरनजिकै श्रीमान्लाई स्वागत गर्न पाउँदा साह्रै खुसी लागेको छ’, मुनाले भनिन्, ‘अब एक घण्टामा घर पुगिन्छ, काठमाडौँ जानुपर्ने बाध्यता हट्यो।’ उनको घर विमानस्थलबाट ५० किमि पश्चिममा पर्छ। शनिबारदेखि फ्लाई दुबईले दैनिक भैरहवाका लागि एउटा उडान गरेपछि यहाँ उत्साह देखिएको हो।

फ्लाई दुबईको विमानबाट आइतबार भैरहवा ओर्लेका नवलपरासी पूर्व गैँडाकोटका रोशन सापकोटाले आफूलाई भाग्यमानी ठानेका छन्। ‘घरनजिकैको एयरपोर्टमा अवतरण गर्न पाइयो, निकै खुसी छु’ सापकोटाले भने।

दुबईमा रोजगारीमा रहेका सापकोटा २६ महिनापछि नेपाल फर्केका हुन्। उनले आफू डिसेम्बर २५ मा भैरहवाबाटै दुबई फर्कने बताए। सापकोटालाई स्वागत गर्न विमानस्थलबाहिर १० बर्षका छोरा र पत्नी पर्खिरहेका थिए। त्यसो त भैरहवा अवतरण गरेका यात्रुहरू सुरुवाती चरणमा यात्रा गर्न पाएकोमा खुसी मात्रै थिएनन, गौरव पनि लागेको सुनाए।

दुबईबाट सीधै भैरहवा अवतरण गर्न पाउँदा घरमै पुगे जस्तो भएको सुनाए गुल्मी तम्घासका भूपालसिंह थापाले। ‘यति खुसी लाग्यो, यसको सीमा छैन’, उनले भने, ‘म त ओर्लेपछि विमानस्थल हेर्दै–हेर्दै आएँ, अब साँझसम्म तम्घास पुगिन्छ।’ भूपालसँगै आएका उनका भाइ भोजराजले पनि भैरहवा अवतरण गर्न पाउँदा खुसी लागेको सुनाए। ‘सधैँ यही विमानस्थलबाट यात्रा गर्न पाइयोस्’, उनले भने।

भैरहवा रानीगाउँका स्थानीयसमेत रहेका आनन्द पुन पनि गौतमबुद्ध विमानस्थल ओर्लन पाउँदा खुसीको कुनै सीमा नै नरहेको बताउँछन्। ‘यो विमानस्थलको वरिपरि खेल्दै हुर्केको हुँ, दुबईबाट सीधै भैरहवा अवतरण गर्न पाइएला भन्ने कहिल्यै सोचेको थिइनँ’, उनले भने, ‘समयभन्दा बलवान् केही हुने रहनेछ, ज्यादै खुसी छु।’ ६/६ महिनामा आउजाउ गर्ने पुनले अब दुबई आवागमन सहज हुने बताए।

विमानस्थल निर्माण सम्पन्न भएर पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा सरकारको समेत आलोचना भइरहेको थियो। गौतमबुद्ध विमानस्थलबाट चारवटा विमानले नियमित उडान थालेपछि उत्साह जागेको हो। ‘विमानस्थल बन्दा कति सहज हुँदो रहेछ भन्ने कुरा दुबईबाट सीधै बुहारी भैरहवा अवतरण गरेपछि थाहा भयो’, बुटवलकी मीना नेपालले भनिन्।

उनले एक घण्टाअघि बुटवलबाट आएर बुहारीलाई लिएर घर जान पाउनु आफूहरूका लागि ठूलो अवसर रहेको सुनाइन्। निर्माणाधीन सडकका कारण धुलाम्मे बुटवल नारायणगढ सडक र बेलाबेलामा पहिरोले बस पुरिने खतराबाट समेत बचिएको उनले बताइन्। आइतबार फ्लाई दुबईबाट १६३ यात्रु लिएर आएकोमा ३१ जना भैरहवा ओर्लिएका थिए भने १३२ जना काठमाडौँ गए। भैरहवाबाट ३ जना दुबईका लागि प्रस्थान गरेका छन्। शनिबार भने १४९ यात्रुमध्ये १० जना मात्रै भैरहवा ओर्लेका हुन्।

चहलपहल बढ्यो, एयर कम्पनी पनि उडानका लागि इच्छुक

गौतमबुद्ध विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेपछि क्रमशः अन्य विमान कम्पनीहरूको पनि आकर्षण बढ्न थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। उनका अनुसार कतार एयरवेजले पनि उडानका लागि समय माग गरेको छ। ‘उडानको छोटो अवधिले उत्साज जगाएको छ’, उनले भने, ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकले सेवा लिनेमा आशावादी छौँ।’

महाप्रबन्धक तिवारीले बुद्ध जन्मस्थल लुम्बिनी पनि नजिकै रहेकाले अब पर्यटक पनि सीधै भैरहवा अवतरण गर्ने भएकाले पर्यटन, यातायात व्यवसायी र अन्य सरोकारवाला सबैले स्वागतसत्कारमा ध्यान दिनुपर्ने बताए।

भैरहवा अवतरण गरेका गैँडाकोटकोटका रोशन सापकोटा छोरा र पत्नीसँग।

गौतमबुद्ध विमानस्थलबाट उडान सुरु भएपछि चलहपल बढेको छ। विमानस्थल बाहिर स्वागतका लागि आफन्तको लाइन लाग्न थालेको छ। पार्किङ पनि भरिभराउ हुन थालेको छ। कात्तिक १८ गते थाई एयर एसियाले परीक्षण उडान गरेको थियो। उसले यात्रु ल्याएको थिएन।

कात्तिक २३ (शुक्रबार) ७ यात्रु बोकेर आएको थाई एयर एसियाले ३२ यात्रु लिएर फर्किएपछि गौतमबुद्धमा अन्तर्राष्ट्रिय उडान सुरु भएको हो। अब थाई एयर एसियाले सोमबार र बिहीबार उडान भर्नेछ।

शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान गरेका हुन्। जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान सुरु गरेको छ।

शनिबार जजिराले कुवेतबाट १७१ यात्रु लिएर आएको थियो भने भैरहवाबाट १६७ जना यात्रु लिएर फर्केको थियो। विमानस्थलबाट अहिले फलाई दुबईको दैनिक, थाई एयरवेजको सातामा २, नेपाल वायु सेवा निगमको ४, नेपाल वायुसेवा नियमको साताको एक दिन क्वालालम्पुर, जजिराको साताका ३ उडान रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

उनका अनुसार कतार एयरवेजले दैनिक एक उडानका लागि समय माग गरेकाले यो पनि सुरु भएपछि सातामा २४ उडान हुनेछ। कतार एयरवेज नोभेम्बर १२ तारिखदेखि उडानका लागि तालिका माग गरेको छ।

विमानस्थल उद्घाटन २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए। उद्घाटनकै दिन जजिरा एयरले कुवेतबाट भैरहवाका लागि उडान गरेको थियो। तर मौसम र प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो।

भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको फ्लाई दुबईको जहाज।

प्रकाशित: २६ कार्तिक २०८१ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast