घटना आजभन्दा ठिक ३५ वर्षअघिको हो। दिन हो, ९ नोभेम्बर १९८९। त्यो बिहान जब मानिसहरू ब्युँझिए, उनीहरूलाई थाहा थिएन- संसारमा परिवर्तन हुन लागेको छ। किनभने त्यही दिन बर्लिनको पर्खाल ढलेको थियो।
९ नोभेम्बरको रात बर्लिनमा सिमाना चौकी खुल्दा त्यहाँ अद्भुत दृश्य थियो। मानिस खुलेर एकअर्कासँग भेटघाट गर्दै थिए, गला मिलाउँदै थिए। यी त्यस्ता मानिस थिए, जो ४० वर्षदेखि एकअर्कासँग अलग थिए। नयाँ पुस्ता थिए, जो एकअर्कालाई चिन्दैनथे।
बर्लिन पर्खाल ढलेपछि पूर्वी जर्मनीको कम्युनिस्ट शासन अन्त्य भयो। यसले जर्मन जनताको एकता चाहनालाई मात्र उजागर गरेन, नयाँ आयाम पनि दियो। एकपटक जर्मन एकीकरणका प्रयास सुरु भएपछि यसको प्रभाव त्यतिबेलाको अन्तर्राष्ट्रिय संरचनामा पनि पर्न गएको थियो।
दोस्रो विश्वयुद्धले जर्मनीलाई दुई भागमा बाँडिदिएको थियो। दुई देशहरू बीच सीमारेखा बाँधिदिएको थियो। एउटै राष्ट्रियता तर दुई देश!
विभाजनको रेखा पछि गएर दुई जर्मनीको सिमाना बन्यो। अनि बिस्तारै अमेरिकाी नेतृत्वमा रहेको पश्चिमी गठबन्धन र सोभियत संघको नेतृत्वमा रहेको पूर्वी गठबन्धनबीचको विचारधारात्मक सिमाना बन्यो। १९६१ मा बर्लिनमा पर्खाल बनेपछि दुवै देशका मानिसबीच भेटघाट एक्कासि रोकियो। बर्लिन पर्खालले रातारात सहरलाई दुई भागमा बाँडिदियो- परिवार छिन्नभिन्न भए, साथीहरू एकअर्कासँग बिछोडिए। उनीहरू न त भेट्न सक्थे, न त एकअर्कासँग कुरा गर्न पाउँथे।
प्रत्येक जर्मनको मनमा एकीकरणको सपना त थियो तर राजनीतिक अवस्था वास्तविकताभन्दा भिन्न थियो। विभाजित देशका जनताले फेरि सँगै हुन चाहे पनि अन्तर्राष्ट्रिय राजनीतिक शक्तिहरूले यसलाई मन पराएका थिएनन्।
दोस्रो विश्वयुद्ध त्रासदी भोगेका पश्चिमाहरू एकीकृत जर्मनीको सम्भावनाले डराएका थिए। यद्यपि एकीकरणको इच्छालाई कसैले पनि प्रत्यक्ष रूपमा अस्वीकार गर्दैनथ्यो। कसरी सम्भव हुनेछ भन्ने स्पष्ट योजना थिएन। अन्ततः ९ नोभेम्बर १९८९ को एउटा घोषणाले इतिहास बदलिदियो।
पूर्वी जर्मनीमा लोकतन्त्र, हिँडडुल र अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा लागि व्यापक प्रदर्शन भइरहेका थिए। पूर्वी जर्मनीको कम्युनिस्ट पार्टीमाथि गहिरो दबाब थियो। सोही कारण पार्टीको केन्द्रीय समिति बैठक चलिरहेको थियो। बैठकमा जीडीआर (जर्मन डेमोक्रेटिक रिपब्लिक, पूर्वी जर्मनीको आधिकारिक नाम) का नागरिकलाई यात्रा स्वतन्त्रता दिने विषयमा बहस भइरहेको थियो।
त्यही समयमा पार्टीका सचिव गुन्टर साबोभ्स्कीले पत्रकारहरूलाई सम्बोधन गरिरहेका थिए। उनलाई पूर्वी जर्मनीका नागरिकले कहिलेदेखि स्वतन्त्र रूपमा देशबाहिर जान पाउँछन् भन्ने ठ्याक्कै जानकारी थिएन। जब एकजना पत्रकारले सोधे। गुन्टरले अनिश्चित जवाफ दिए, ‘मेरो बुझाइमा, अहिलेदेखि।’
उनको यो अभिव्यक्तिले तत्काल ठूलै खैलाबैला मच्चायो। पूर्वी र पश्चिम बर्लिनका हजारौँ मानिसलाई सिमानातर्फ जान प्रेरित गर्यो र केही घण्टाभित्रै बर्लिन पर्खालको कठोरता तोडियो। यो अप्रत्यासित घटनाले इतिहास बदलिदियो र जर्मन एकताको बाटो खोल्यो।
त्यसपछि मानिसको भीड सिमाना चौकीतर्फ अघि बढ्यो। पार्टीको निर्णय औपचारिक रूपमा सिमाना अधिकारीहरूसम्म पुगेको पनि थिएन, सीमामा मान्छेको भीड लाग्न थालिसकेको थियो। ठूलो भीड देखेर सिमानाका अधिकारीहरू ढोका खोल्न बाध्य भए।
दुई सैनिक गठबन्धनलाई छुट्याउने अभेद्य पर्खालमा एउटा छिद्र देखिइसकेको थियो, जसले अब मानिसलाई रोक्न सक्दैनथ्यो। दुवै देशका मानिसले आपसमा भेटे र उनीहरूको मिलन यति शक्तिशाली थियो कि त्यसपछि ११ महिनाभित्रै तीव्र परिवर्तन भए। चार दशकदेखि विभाजित जर्मनी फेरि एकताबद्ध भयो।
यो अप्रत्यासित मिलनले राजनीतिक र सांस्कृतिक रूपमा विभाजित समाजलाई पुनः एकतामा बाँध्न मद्दत गर्यो। जर्मन एकताको सपना यथार्थमा बदलियो। अनि यो पुनर्मिलनले युरोपभरि नयाँ शान्ति र एकताको आशा सञ्चार भयो।
बर्लिन पर्खाल भत्किएपछि राजनीतिक परिवर्तहरू द्रुत गतिमा भइरहेका थिए। केही महिनामा पश्चिम जर्मनीका चान्सलर हेलमुट कोलले एकीकरणको प्रस्ताव राखे। उनले पश्चिमका साझेदार र सोभियत नेता मिखाइल गोर्बाचेभसँग विश्वास हात अगाडि बढाए र अन्ततः जर्मन एकीकरण सम्भव भयो।
यो एक ऐतिहासिक क्षण थियो, जसले जर्मनी मात्र नभएर समग्र युरोपको राजनीतिक परिप्रेक्ष्यलाई बदलिदियो। जर्मन एकीकरणले संसारभरिका मानिसलाई धेरै आशा दिएको थियो। केही आशा पूरा भए। सोभियत संघको पतन भयो। शीतयुद्धको अन्त्य भयो। बिस्तारै पूर्व र पश्चिमका पुराना शत्रुहरूका बीचमा सहयोग प्रक्रिया सुरु भयो।
बर्लिन पर्खालको पतनको ३५ वर्षपछि जर्मनीमा नयाँ पुस्ता जन्मिएको छ। धेरै युवा जर्मन आफूलाई जर्मनको रूपमा महसुस गर्छन् तर पूर्वी र पश्चिमी जर्मनीका बीचको भिन्नता अझै कायम छ, जसका कारण सोच र दृष्टिकोणमा भिन्नता देखिन्छ।
उदाहरणका लागि सम्पत्ति स्तरको तुलना गर्नुपर्दा पश्चिम जर्मनीका प्रत्येक परिवारको औसत सम्पत्ति ३ लाख ६० हजार युरो छ, जबकि पूर्वी जर्मनीमा १ लाख ५१ हजार युरो छ। यसका कारण विभिन्न छन्। एक त साम्यवादी पूर्वी जर्मनीमा व्यक्तिगत सम्पत्ति आर्जनमा ध्यान दिइँदैन थियो। आर्थिक परिवर्तन भयो र मानिसले सम्पत्ति आर्जन सुरु गरेर पनि औसत तलब पश्चिम जर्मनीको तुलनामा १५ प्रतिशत कम छ।
सुरुआतमा धेरै मानिस पूर्वी जर्मनीबाट पश्चिम जर्मनी जान थालेको कारण काम गर्ने जनशक्ति कम भएको थियो। यसले आर्थिक विकासको गति ढिलो बनायो।
बर्लिन पर्खालको पतनको समयमा जर्मनी र संसारभरि एक प्रकारको उत्साहको लहर थियो, अब त्यो समाप्त भएको छ। त्यो पर्खाल भत्किएपछि जुन आशा सञ्चार भएको थियो, त्यो पनि लोप भइसकेको छ। अहिले संसारका विभिन्न भागमा नयाँ पर्खाल बन्न थालेका छन् र केही ठाँउमा त थप पर्खाल बनाउने तयारी चलिरहेको छ।
९ नोभेम्बरको त्यो ऐतिहासिक दिनको खुसी र उत्साहलाई सम्झनु महत्त्वपूर्ण छ। त्यो दिनले जर्मनी मात्रै होइन, संसारभरिका मानिसलाई एकता र सहयोगको महत्त्व देखाएको थियो। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा