पुस्तक-चर्चा

‘उमेर त वर्ष खाएको आँकडा मात्र हो’ र?

ध्रुवहरि अधिकारी २४ कार्तिक २०८१ १६:४७
218
SHARES
‘उमेर त वर्ष खाएको आँकडा मात्र हो’ र?

मुकेशकुमार चालिसे प्राणीशास्त्र (Zoology) विषयका अध्येता वा ज्ञाता भनेर अब सीमित परिवेशमा चिनाउनु पर्ने नाम रहेन। चालिसेका चेला-चेलीहरूले विश्वविद्यालयमा पढ्दा नै उहाँको विद्यावारिधि उपाधिबारे प्रशस्त जिज्ञासा राखे होलान्, अनुसन्धानका विविध पक्षबारे सोध-खोज गरेर यथासक्य लाभ उठाए होलान्। प्राणीमध्ये पनि बाँदरको आनीबानीबारे जानकार चालिसेको अन्वेषण कतिपय सरोकारवालाका लागि उपयोगी पनि भयो होला। अबचाहिँ उहाँको खारिएको अनुभवबाट लाभ उठाउने अवसर समाजको फराकिलो समुदायले पाउन थालेको छ।

अचेल चालिसेको चिनारी पाका नेपालीहरूले पढ्न रुचाउने लेख र पुस्तकहरूका लेखकको रूपमा हुने गरको छ। भर्खरै प्रकाशित ‘पाकाको रमाइलो र पिरलो’ नामक पुस्तक यसै कुराको प्रमाण हो। २८९+ पृष्ठको यस पुस्तकलाई लेखकले ‘दिव्यशताब्दी पुरुष’ डा. गौरीशंकर लाल दासको सम्मानमा समर्पित गर्नुभएको छ। यो पुस्तक चालिसेको यस फाँटको चौथो कृति रहेछ। ज्ञानगुन प्रकाशनका अध्यक्ष शेषराज सिवाकोटीको प्रकाशकीय पढ्दा के थाहा हुन्छ भने उहाँको प्रकाशन संस्थाले भने यसअघि यस विषयको कुनै पुस्तक छाप्न पाएको रहेनछ। मन्तव्य खण्डमा कृष्णमुरारी गौतम (चट्याङ् माष्टर) ले ‘बुढ्यौली विज्ञान’ को प्रसङ्‌ग उप्काउँदै यसको पठन-पाठन सिलसिलालाई अघि बढाउन चालिसेका यी चारवटै रचना उपयोगी हुने ठहर्‍यानुभएको छ। गौतमका अनुसार बुढ्यौली विज्ञान (Gerontology) ले शैक्षिकजगत् प्रवेश पाएको पाँच वर्ष भइसकेको छ।

विवेच्य पुस्तकका २८९ पृष्ठमा ३२ शीर्षकका सामग्री छन्। सबै पाका मान्छेका चुनौती र अवसरको सेरोफेरोमा लेखिएका। नानाथरीका रसिला फलफूलहरूले भरिएको ठूलो, फराकिलो ढक्की पाहुनाको सामु राखिदिएजस्तो। इच्छाअनुसार केरा, सुन्तला, अम्बा, नास्पाती, स्याउ, हलुवावेद र किवी लगायतका फलहरूबाट छानी-छानी खान पाइने। फल त सबै फल हुन् तर भिन्नभिन्न स्वादका। चालिसेको नयाँ पुस्तकमा परेका रचना पनि यस्तै छन् – अलग अलग प्रकारका अनुभव पढ्दा पाठकलाई बेग्लाबेग्लै अनुभूति हुने। यसै भएर होला, आगो ताप्नू मूढाको कुरा सुन्नू बूढाको भन्ने लोकोक्ति बनेको। पढेर जानेको विद्यामा परेर जानेको ज्ञान थपिएपछि मान्छे अनुभवी हुने कुरा स्वतःसिद्ध छ। लेखक चालिसेको दह्रो शैक्षिक पृष्ठभूमि त छँदै छ, २०१३ सालको जन्म रहेछ–अनुभव पनि खँदिलै भयो। देश कर्मथलो र विदेश अध्ययनको गन्तव्य। अध्ययन,अनुसन्धानका प्रतिवेदन र सोध र खोजका विवरणले पुस्तकका हरेक लेख गहन आत्मपरक निबन्ध भएका छन्।

मूल्यवान् योगदान

“हामी ज्ञान,सीप र अनुभवका भण्डार हौं” भन्ने पहिलो निबन्धमा देशको जनसंख्याको ५.२३ प्रतिशत ६८ वर्षमाथिको नर-नारीले ओगटेको देखिने आँकडा प्रस्तुत गर्दै लेखक चालिसेले पाका मान्छेले आफूसँग जे छ त्यो नयाँ पुस्तालाई दिन,सुम्पिन चाहन्छन् भन्ने सही निचोड निकाल्नु भएको छ। थाहा भएकै कुरो हो,चल-अचल भौतिक सम्पत्ति मात्र सबैथोक होइनन्। जागीरेसँग एकप्रकारको अनुभव हुन्छ भने कृषकको अर्कै किसिमको भरिया, शिक्षक, वकिल, डाक्टर, इञ्जिनियर, पत्रकार सबैले आ-आफ्नो पेशा व्यवसायमा रहँदा मेहनत र संघर्ष गरेका हुन्छन्। तिनको अनुभवबाट सिक्ने युवक-युवतीले पहिलेका गल्ती, त्रुटि दोहोरिन नदिईकन अगाडिको बाटो पहिल्याउन सक्छन्। पाको पुस्ताको यो देनलाई कम्ती आँक्नु हुँदैन। नेपाली समाज मौलिक मान्यता र परम्पराबाट दिनानुदिन पर-पर भइरहेको सन्दर्भलाई लेखकले कतै सीधै र कतै घुमाउरो पाराले यिनै कुरा अर्थ्याउनु भएको छ।

केही निबन्ध पाका मान्छेका बानी-बेहोरासँग सम्बन्धित छन् भने कतिपय शीर्षकमुनिका पेटबोली बुढ्यौली-स्वास्थ्यसँग गाँसिएका छन्। रोगव्याधिबाट मुक्त रहेर क्रियाशील जीवन बिताउन सघाउ पुर्‌याउने अनेक उपाय सुझाइएका छन्। शारीरिक व्यायाम, प्राणायामहरूबाट हुने फाइदालाई निकै मिहिन ढङ्‌गले व्याख्या, वर्णन गरिएको छ। बूढेसकालमा कामलाग्ने घरेलु ओखतीमूलो र तिनका प्रयोगविधिहरू निर्देशित भएका छन्। घोत्लिएर पढ्दै जाँदा केही दशक पहिले छापिएको लोकप्रिय पुस्तक ‘डाक्टर नभएमा’ को सम्झना हुँदो रहेछ। पढ्दा पट्यार नलागोस् भनेर होला, लेखकले रोचक र कुत्कती लाग्ने सामग्री पनि समावेश गर्नुभएको छ। “पाकाले नाक त जोगाउनै पर्छ” यस्तै कोटिको निबन्धमा राख्न सकिन्छ। नाक जोगाउने कार्यलाई मान्छेको इज्जत प्रतिष्ठासँग जोड्ने चलन छ यद्यपि नाकको खास काम वस्तु,वातावरणलाई सुँघ्ने हो। तसर्थ घ्राणशक्ति गुम्न नदिन पनि नाक जोगाउनै पर्छ।

सरल र मौलिक

निरस विषयलाई पनि सरस बनाउन भाषा‍‍‍‌-शैलीको लालित्यले काम गर्दो रहेछ। चालिसेको नवीनतम् कृतिलाई यस कोणबाट पनि हेर्न सकिन्छ। ‘सरल र बोधगम्य’ भन्ने प्रकाशन संस्थाका अध्यक्ष सिवाकोटीको कथन सार्थक छ। झर्रोवादी आन्दोलनका अभियन्ता बालकृष्ण पोखरेल यतिखेर जीवित हुनुहुँदो हो त यो पुस्तक घत मानेर पढ्नुहुन्थ्यो होला। त्यस्तै, प्रचलनमै रहेका बोली एवं अभ्यासलाई शिष्ट,सभ्य र पाच्य बनाउन चालिसेले नयाँ-नयाँ शब्दको निर्माण नै गर्नुभएको छ जसले शब्दकोशका सम्पादकहरूको ध्यानाकर्षण गराउन सक्छन्। जस्तो,उमेर बढ्दै जाने प्रक्रियालाई चालिसेले ‘उमेरिनु’ भन्ने छरितो शब्द प्रयोग गर्नुभएको छ। स्पष्टै छ, शब्द छरितो हुँदाहुँदै पनि अर्थ बाङ्‌गिन पाएको छैन। यस्तै,अर्को शब्द छ ‘हेरालु’। पाका मान्छेको हेरचार गर्ने वा स्याहार-सुसारमा खटिने व्यक्तिलाई भनिएको छ हेरालु। बा-आमा, सासू-ससुरा र अन्य मान्यजनको सेवामा सेवारत एकै परिवारको युवा सदस्यलाई पनि हेरालु भन्न सकिंदो हो, तर लेखक चालिसेले हेरालुलाई पारिश्रमिकमा काम गर्ने कामदारको रूपमा चिनाउनु भएको छ। साबिकका शब्दकोशमा सुसारे, धाई, सेविका जस्ता प्रविष्टि पाइन्छन्। टहलुवा पनि पर्यायवाची शब्द हो। तर अचेल यी नेपाली शब्दभन्दा अङ्‌ग्रेजीको ‘केयर-गिभर’ चाहिँ पाच्य बनेको छ। काम त उही हो–बूढाबूढीको हेरचाह। तर इजरायल जानेहरू आफूलाई ‘केयर-गिभर’ भएर रोजगारीमा जान लागेकोमा गर्व गर्छन्स चिनाउन चाहन्छन्। हो, त्यस्ता मान्छेलाई ‘हेरालु’ को दर्जाले राहत देला । व्रत बस्ने व्रतालु, मायागर्ने मायालु र दयागर्ने दयालु हुनसक्छ भने हेरविचार गर्ने ‘हेरालु’ हुँदा के अनर्थ होला त र?

प्रसङ्‌गवश, हेरालु शब्द नयाँ मानिने ‘बृहत्तर नेपाली शब्दकोश’ मा पनि भेटिएन। ‘हेरालो’ त छ तर अर्थ भिन्दै प्रकारको। जे होस्, बृहत्तरका कोशकार चूडामणि गौतमले कदाचित् चालिसेको यो पुस्तक हेर्न पाउनुभयो भने कोशको आगामी संस्करणमा प्रविष्टि पाउनयोग्य अन्य धेरै पदावली भेट्टाउन सक्नु होला। भनिन्छ,महाकवि देवकोटाका कतिपय कृतिमा आफैंले निर्माण गरेका शब्दहरूको प्रयोग गर्नुभएको छ। भनिन्छ नि– आवश्यकता नै आविष्कारकी जननी हुन् !

विवेच्य पुस्तकमा सन्दर्भ र सिलसिला दोहोरिनाले पुनरुक्तिको दोष लाग्नसक्ने केही कुराहरू परेका छन्। हिज्जेलगायत शुद्धाशुद्धि नमिलेका उदाहरण पनि छन्। जस्तो, अमेरिकाको हार्वार्ड विश्वविद्यालयको उल्लेख जति ठाउँमा भएको छ त्यति ठाउँमा पुछारको अक्षर ‘ड’ माथि लाग्नुपर्ने रेफ नलागेपछि ‘हार्वाड’ हुन पुगेको छ।

छपाइको कागज पुस्तकलाई दीर्घजीवी तुल्याउने कित्ताको छान्न पाएको भए ‘सुनमा सुगन्ध’ भन्ने उखान चरितार्थ हुनेथियो।

समग्रमा, चालिसेको चौथो किताब हरेक गृहस्थको घरमा, घर्रामा राख्न उपयुक्त ग्रन्थ हो। प्रकाशकीयमा सिवाकोटीले यसै कारण हाला ‘हाते किताब’ को उल्लेख गर्नुभएको। हिजोआज स्थानीय सरकारको क्रियाशीलता बढेको छ। त्यसैले नगरपालिका, गाउँपालिका र तिनका ओडाहरूले ज्येष्ठ नागरिकको सुविधाको लागि तिनको पहुँचमा पुग्ने पुस्तकालयमा पनि यो किताब राख्नु कल्याण होला।

प्रकाशित: २४ कार्तिक २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast