काठमाडौँ- कात्तिकको अन्तिम शनिबार। दसैँ, तिहार तथा छठ पर्वको माहोल सकिएपनि मनोरञ्जन क्षेत्रमा पर्व विशेष प्रदर्शनरत भएका फिल्मले हल भरिभराउ छ। अझ भनौं सम्पूर्ण हल ‘पूर्णबहादुरको सारङ्गी’ मय भएको छ। देशैभर चार सयको हाराहरीमा साे पाएकाे फिल्म हेर्न मध्यरातीसम्म दर्शककाे घुँइचो छ। त्यस्तै अन्य फिल्म पनि हलमा चलि नै रहेका छन्।
त्यस्तै यो साता रंगमञ्च पनि सक्रिय बनेको छ। शनिबार देखि नै मण्डला थिएटरमा ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदैछ। त्यस्तै केही सांगीतिक कार्यक्रमपनि रहेको छ।
फुर्सदमा हुनुहुन्छ भने हेरौं कहाँ के हुँदैछ?
‘कन्दरा’ ब्याण्ड सांगतिक प्रस्तुति
नेपालको सांगीतिक समुह ‘कन्दरा’ ब्याण्डले आज ठमेलस्थित एलओडी क्लबमा सांगीतिक कार्यक्रम गर्दैछ। स्थापनाको ३२ औं वर्षको अवसरमा कन्दाराले सांगितिक कार्यक्रम आयोजना गरेको हो। राती आठ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागीताको लागि खल्ती एपबाट टिकट लिन सकिनेछ।
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदैछ। नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक केदार श्रेष्ठ हुन्। नाटक मानवीय भावना, प्रेम अनि सहअस्तित्वका जटिलतासँग सम्बन्धित छ। जसलाई सन्तानको चाहनामा रहेका एक दम्पत्तिको आशा, सपना, आकांक्षा, बाधा र दुविधाबीच चल्ने मुटुको धड्कनलाई प्रतिध्वनिको रुपमा प्रस्तुत गरिएको छ।
नाटकमा कलाकार मेनुका प्रधान र कर्माले अभिनय गरेका छन्। आगामी मंसिर १६ सम्म चल्ने नाटक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ साढे ५ बजे र शनिबार १ बजे अतिरक्त सो मञ्चन हुनेछ।
हलमा कुनकुन फिल्म?
पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। देशैभरका हलले बिहान ७ बजेदेखि मध्य राती पौने १२ बजेसम्मको सो दिएका छन। गन्धर्व समुदायको कथाम आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर, दरबार सिनेम्याक्स र भाटभटेनी भक्तपुरमा फिल्मको ६० सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा २७ सो, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा १८ सो छ। त्यस्तै एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित प्रदर्शन भइरहेको छ।
भुलभुलैया ३
कात्तिक १६ देखि नेपालमा हिन्दी फिल्म ‘भुलभुलैया ३’ प्रदर्शन भइरहेको छ। हरर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक अनीस बज्मी हुन्। फिल्ममा कार्तिक आर्यन, माधुरी दीक्षित र तृप्ती डिमरी मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा गरी फिल्मको १८ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, विश्वज्योति हल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स र सिटी सिनेमाजमा ‘भुल भुलैया ३’ चलिरहेको अन्य हल हुन्।
सिंगम अगेन
कात्तिक १६ देखिनै नेपालमा अर्को हिन्दी फिल्म ‘सिंगम अगेन’ पनि प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा अजय देवगन, करीना कपूर, दीपिका पादुकोणको मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक रोहित शेट्टी हुन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, दरबार सिनेम्यासक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको १३ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म ‘सिंगम अगेन’ चलिरहेको छ।
१२ गाउँ
दसैँको फुलपाती अर्थात् असोज २४ देखि हलमा फिल्म ‘१२ गाउँ’ पाँचौ सातामा प्रदर्शन भइरहेको छ। चौथो सातासम्म फिल्मले देशैभरबाट साढे २५ करोड कमाएको निर्माण टिमको दाबी छ। १२ गाउँको कथामा आधारित फिल्मको मुख्य भूमिकामा समीर भट्ट छन्।
यो उनको डेब्यु फिल्म हो। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्ममा उनीसहित न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, सन्तोष सरकार, स्टन्ट शिल्भालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल भाटभटेनी भक्तपुर र सिभिल मलमा फिल्मको ४ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘१२ गाउँ’ चलिरहेको छ।
छक्का पञ्जा ५
फुलपातीदेखि नै प्रदर्शन भइरहेको अर्को फिल्म हो ‘छक्कापञ्जा ५’। यो फिल्मले पनि चौथो सातासम्म २० करोड भन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।
सामाजिक कथामा आधारित कमेडी जनरामा बनेको फिल्मले दर्शकको मन जित्न सफल भएको छ। फिल्मका निर्देशक दीपाश्री निरौला हुन्। फिल्ममा दीपकराज गिरी र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर र सिभिल मल, आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टरमा फिल्मको सीमित सो छ।
सानो संसार
कात्तिक ९ देखि हलमा फिल्म ‘सानो संसार’ पुन प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक सिद्धार्थ पुडासैनी हुन्। फिल्ममा सीतादेवी तिमल्सिना, राज पंगेनी, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ। फिल्म मध्यमकर्गीय परिवारको संघर्षको कथामा बनेको छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मलमा फिल्मको १ सो छ।
भेनमः द लास्ट डान्स
हलिउड फिल्म ‘भेनमः द लास्ट डान्स’ कात्तिक ८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन थ्रिलर र एडभेञ्चर जनरामा बनेको फिल्मका निर्देशक केली मार्सेल हुन्। फिल्ममा टम हार्डी, जुनो टेम्पल, चिवेटेल इजियोफोरलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल र छाया सेन्टरमा फिल्मको तीन सो छ।