‘सैनिक श्रीमती संघले आफ्नो दायरा फराकिलो पार्दै जाने’

हिमाल प्रेस २३ कार्तिक २०८१ १६:५६
254
SHARES
‘सैनिक श्रीमती संघले आफ्नो दायरा फराकिलो पार्दै जाने’ तस्बिरहरू सौजन्य : सैनिक श्रीमती संघ, नेपाली सेना

काठमाडौँ- सैनिक श्रीमती संघ (नेपाली सेना) को ४१ औँ वार्षिकोत्सव बिहीबार जंगीअड्डामा विविध कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ। वार्षिकोत्सवका अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले पूजाअर्चना तथा झण्डोत्तोलन गर्नुका साथै संघले सम्पादन गर्दै आएका विभिन्न किसिमका कल्याणकारी कार्यहरुका बारेमा धारणा राखेकी थिइन्।

सैनिक श्रीमती संघले नेपाली सेनामा रहेका आफ्ना श्रीमानको् मेहनतबाट जम्मा भएको रकमलाई उनीहरुको परिवार र आश्रित परिवारमा मात्र नभएर सेनासँग जोडिएका परोपकारी क्षेत्रमा सहयोगी हातको रुपमा परिचालन गर्दै आएको छ। संघले सामाजिक कार्यमा अग्रणी समूहमा रहेर त्यहीअनुरूपको काम गर्दै आएको छ।

संघले ४१ औँ वार्षिकोत्सव मनाइरहँदा जिल्लाजिल्लामा प्रशिक्षणको काम, फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने, नेपाली सेनाका आश्रित परिवार, बहालवाला र अवकाशप्राप्त सैनिक तथा गैरसैनिकलाई लक्षित गरी विभिन्न सीपमूलक कार्य गर्ने जस्ता गतिविधि बढाउँदै गएको छ।

सिलाइकटाइ, बेकरी, मन्टेसरी, ब्युटिसियन, अचार बनाउने, हस्तकलालगायत प्रशिक्षण दिने काम गर्दै आएको छ। नेपाली सेनाका सकल दर्जाका विशेष क्षमता भएका बालबालिकालाई लक्षित गरी शिक्षामार्फत समग्र विकास गराउने उद्देश्यका साथ निर्माण भएको ‘वरदान सैनिक विशेष दिवा विद्यालय’ तयार गरिएको छ।

सेवा नै परम् धर्म, सेवा नै परम् तप हो भन्ने आदर्श बोकेको श्रीमती संघले गैरसैनिकसँग सहकार्य गरेर पनि काम गर्ने गरेको छ। सैनिक श्रीमती संघ धर्ममा अडिग रहेर सबै धर्मलाई समान सम्मान गर्दै पूजाअर्चना गर्नेदेखि सबैलाई सहयोग पुर्‍याउने काम गरिरहेको छ।

गरेका कामको संगालोका रुपमा रहेको वार्षिक मुखपत्र पनि विमोचन गरिएको थियो। प्रधानसेनापति अशोकराज सिग्देल र संघकी अध्यक्ष निताले संघको वार्षिक मुख पत्र ‘सेवा सुमन’ को संयुक्त रुपमा विमोचन गरेका थिए।

प्राकृतिक प्रकोप जस्तै भूकम्प, बाढीपहिरो, हावाहुरीले पार्ने क्षतिपछि गर्न सक्ने सहयोग गर्दै आएको संघले अहिले विद्यालय बनाउने देखि फरक क्षमता भएका बालबालिकालाई शिक्षा दिलाउन लागिपरेको देखिन्छ। यसका अतिरिक्त नयाँ कार्यसमितिले पनि फरकफरक दृष्टिकोणबाट यो संस्थालाई अब्बल बनाउँदै लैजाने देखिएको छ।

विपतमा परेका नेपालीलाई सहयोग गर्ने काम पनि श्रीमती संघबाट हुँदै आएको छ। भूकम्प जाँदा होस् या अन्य दैवी प्रकोपको अवस्था आउँदा सैनिक संघ सक्रिय रहेर सहयोग गर्ने आवश्यक खाद्यान्न ,औषधी र लत्ताकपडासमेत उपलब्ध गराउने गरेको छ।

कतिपय अवस्थामा अन्तरसैनिक महाविद्यालय निबन्ध, कविता तथा चित्रकला प्रतियोगिता गराउने र उत्कृष्ट छात्रछात्रालाई पुरस्कार वितरण गर्ने गरेको छ। यस्तै जेहेनदार छात्रछात्रालाई पनि पुरस्कार दिने कार्यहरु भइरहेको हुन्छ।

फरक क्षमता भएको सन्ततीको परिवारलाई आर्थिक सहयोग गर्ने, विभिन्न विद्यालयमा पठाउन नसकेका आफ्ना सेनाको परिवारको संरक्षण गर्ने, औषधि उपचारमा गर्ने काममा सहयोग गर्ने र गरिब तथा हातमुख जोर्न गाह्रो भएको कुनै समाचार आएमा त्यहाँ बुझेर सहयोग पुर्‍याउने काममा पनि संघ अगाडि नै छ।

विहिबार भउको कार्यक्रममा प्रकाशित उत्कृष्ट लेख रचनाका सर्जकहरुलाई पुरस्कृत गर्ने काम भएको थियो। साथै सैनिक महाविद्यालयहरूमा अध्ययनरत सकलदर्जाका जेहेन्दार छात्र छात्राहरू तथा फरक क्षमता भएका बालबालिकाहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो।

२०४० साल कात्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ, सैनिक परिवारको हित र विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहँदै आएको र यसले अगामी दिनमा झन आफ्नो दायरा फराकिलो पार्दै लैजाने पनि संघकी अध्यक्ष निताले बताइन्।

उक्त कार्यक्रममा रथीवृन्द, संघका पूर्वअध्यक्ष, संघका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्र छात्राहरू लगायत अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति थियो।

   

प्रकाशित: २३ कार्तिक २०८१ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast