अनर्गल प्रचार गरिएकोमा सहकारीपीडितको आपत्ति

हिमाल प्रेस २३ कार्तिक २०८१ १६:२४
16
SHARES
अनर्गल प्रचार गरिएकोमा सहकारीपीडितको आपत्ति

पोखरा- पोखराको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले रास्वपा कार्यकर्ता तथा रवि समर्थितले आफूहरूमाथि अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी संघर्ष समितिले यसरी सामाजिक सञ्जालमा समिति र पीडितमाथि अनर्गल प्रचार गरी झुठको खेती गरिएको भन्दै आपत्ति जनाएको हो।

समिति अध्यक्ष किरण श्रेष्ठले आफ्नो मान प्रतिष्ठामा आँच आउने गरी जथाभावी प्रचार गर्नेमाथि साइबर क्राइम मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिइसकेको पनि जानकारी दिए। उनका अनुसार रास्वपा तथा रवि लामिछाने समर्थित ३ वटा फेसबुक पेज तथा २ जना व्यक्तिविरुद्ध उजुरी दिइसकेको र बाँकीलाई पनि नछाड्ने चेतावनी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने यतिबेला सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा छन्। उनलाई गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएकोमा तीन पटकसम्म अदालतबाट म्याद थप गरिएको छ। पछिल्लो समय गत २० कात्तिकमा उनलाई गत १५ कात्तिकदेखि लागु हुने गरी १० दिनको म्याद थप गरी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आदेश दिएको थियो।

सहकारीका रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तीन सातादेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई फेरि २५ कात्तिक, आइतबार फेरि अदालत उपस्थित गराइनेछ।

लामिछानेको विषयमा अनुसन्धान जारी रहेकाले आफूहरू यसबारेमा केही नबोल्ने तर संघर्षका कार्यक्रम निरन्तर चलिरहने समिति अध्यक्ष श्रेष्ठले बताए। सहकारी पीडितले आइतबार अदालत परिसरमै आफूहरूको रकम तत्काल फिर्ता हुनुपर्ने माग गर्दै दोषीलाई तत्काल कारबाहीको माग गर्दै विरोध प्रदर्शन गर्ने उनले बताए। उनले रास्वपा सभापति लामिछाने दुईपटकसम्म गृहमन्त्री हुँदा सहकारी ठगीका फरार मख्य अभियुक्त सहकारीका संस्थापक अध्यक्ष जीबी राईलाई जसरी पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा नसकेकोमा उनीहरूको रोष थियो।

संघर्ष समिति सचिव दुर्गानाथ न्यौपानेले सहकारी पीडितलाई टुक्राउने खेल भइरहेकेकोमा आपत्ति जनाउँदै बचत फिर्ता नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। पोखरा ४, गणेशटोलमा कार्यालय रहेको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय जना बचतकर्ताको डेढ अर्ब रुपैयाँ अपचलन भएको अभियोगमा हालसम्म करिब चार दर्जन जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये अधिकांश फरार छन्।

संघर्ष समितिका अनुसार सूर्य दर्शनको करिब ४० करोड रुपैयाँ पोखरा बजारमै लगानी भएकाले सरकारले छुट्टै नीति नियम बनाए उक्त रकम उठाएर पीडितलाई फिर्ता गर्न सकिन्छ। तर, सरकारले यसबारे सोच्दै नसोचेको संघर्ष समिति अध्यक्ष श्रेष्ठले बताए। संघर्ष समितिले मुद्दा लड्नका लागि मात्र बचतकर्तासँग सानो सानो रकममात्र उठाएको श्रेष्ठले स्पष्ट पारे।

प्रकाशित: २३ कार्तिक २०८१ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =